वैदेशिक लगानी भित्र्याउन अब नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गरेको छ।
यसमा गरिएको व्यवस्थाअनुसार विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट लगानी स्वीकृति प्राप्त गरेपश्चात सोवापतको विदेशी मुद्रा भित्र्याउन पूर्व स्वीकृति अनिवार्य हुने छैन। तर विदेशी लगानी स्वीकृत भएपश्चात भित्र्याउनुपूर्व लिखित जानकारी गराउनुपर्नेछ।
यद्यपि सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी वापतको मुद्रा नेपाल भित्र्याउन भने राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने छ।
त्यस्तै विदेशी ऋण लिनका लागि पनि पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था यथावत राखिएको छ। नेपाली व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था तथा अन्य संगठित संस्थाले नेपाल बाहिरबाट भारतीय रुपैयाँ वा परिवत्र्य विदेशी मुद्रामा ऋण लिनु परेमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ।
विदेशी ऋणको ब्याजदर बढीमा १ वर्षे लण्डन अन्तरबैंक दर (लाइबर)मा साढे ५ प्रतिशतसम्म थपेर ल्याउन पाइने व्यवस्था छ। फर्म, कम्पनी तथा नेपाली नागरिकले अमेरिकी डलर १० लाखसम्म र भारतको हकमा १० करोड भारुसम्म ऋण ल्याउन सक्ने व्यवस्था छ।
विदेशी ऋण भुक्तानीका लागि आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त गर्न सकिन्छ। सटहीका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने छैन।
नेपाल भित्रिएको विदेशी मुद्रा र नेपालबाट बाहिरिएको विदेशी मुद्रा लगायतका विवरणहरु समावेश गरी सम्वन्धित बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा प्रत्येक त्रैमास समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।