सर्वसाधारणमा सेयर जारी गर्दा दुई कम्पनीहरूप्रति धेरै लगानीकर्ता आशावादी देखिएका थिए।
नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापित यी कम्पनीको सेयर मूल्य अहिले प्रतिकित्ता तीन सय रूपैयाँ पनि छैन।
यी कम्पनी हुन् — नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र हाइ–ड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट बैंक (एचआइडिसिएल)।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब रूपैयाँको सेयर जारी गरेर सो समय नेपालको इतिहासकै सबभन्दा ठूलो सेयर निष्कासनको रेकर्ड बनाएको थियो। यसको सेयर २०७७ माघबाट कारोबारमा आएको हो।
कारोबारमा आएको केही समयसम्म लगातार १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको सेयर मूल्य अधिकतम सात सय २६ रूपैयाँसम्म पुगेको थियो। तर, पछिल्लो केही वर्षयता निफ्राको सेयरको उच्च मूल्य प्रति कित्ता तीन सयदेखि चार सय रूपैयाँ हाराहारी छ।
निफ्राले जलविद्युत, पर्यटन, सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ। हाल निफ्राले २६ अर्ब १८ करोड रूपैयाँ बराबरको कर्जा लगानी गरेको छ।
ठूलो पुँजी (२१ अर्ब ६० करोड रूपैयाँ) भए पनि बजारबाट लामो अवधिको निक्षेप, ऋणपत्रबाट मात्रै पुँजी जुटाउन पाउनु लगायत कारण पनि निफ्राको कार्यसम्पादन सुस्त छ।
यसले विदेशबाट समेत पुँजी भित्र्याउन पाउने व्यवस्था गरिएको भए पनि यसमा खासै सफल भएको छैन।
यसले विगत चार वर्षमा औसत ५.७८ प्रतिशत लाभांश दिएको छ। सूचीकरणपछिको पहिलो वर्ष आठ प्रतिशत बोनस सेयर समेत दिएको थियो। निफ्राले पछिल्लो समय नगद लाभांश मात्रै दिँदै आएको छ।
चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमास (साउनदेखि असोज) मा यसले ३७ करोड खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५६ करोड रूपैयाँ थियो।
त्यस्तै, एक वर्षभन्दा बढीदेखि कर्जाको किस्ता भुक्तानी नभए मात्रै कर्जा निस्क्रिय मान्न पाइने सुविधाले निफ्राको यस्तो निस्क्रिय कर्जा देखिँदैन। प्रति सेयर आम्दानी तीन रूपैयाँ ८६ पैसा र प्रति सेयर नेटवर्थ एक सय १९ रूपैयाँ छ।
निफ्रामा वाणिज्य बैंकहरूको २०.८९ प्रतिशत, बीमा कम्पनीहरूको १८.९७ प्रतिशत, सरकारको १० प्रतिशत, सर्वसाधारणको ४० प्रतिशत र बाँकी अन्यको सेयर स्वामित्व छ।
आइतबार र सोमबारको कारोबारमा दुवै दिन लामो हरियो मैनबत्ती आकृति बनेको छ। यसले मूल्य बढ्न सक्ने संकेत गरिरहेको छ।
त्यस्तै, दुई अर्ब रूपैयाँको सेयर जारी गरेर हाइड्रो–इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट बैंक २०७३ माघबाट कारोबारमा आएको हो।
२०७८ जेठमा एचआइडिसिएलले हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो। सो समय यसको सेयर ६०६ रूपैयाँसम्म कारोबार भएको थियो। त्यतिखेर एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने भएकाले मूल्य बढेको थियो।
पछिल्ला केही वर्षयता भने यसको उच्च मूल्य तीन सयदेखि चार सय रूपैयाँ हाराहारी छ।
एचआइडिसिएलले मुख्यतः जलविद्युत क्षेत्रमा लगानी गर्दै आएको छ। हाल यसको कर्जा, विभिन्न क्षेत्रमा गरेको लगानी र बैंकहरूमा राखेको रकमसहित कुल २८ अर्ब ४५ करोड रूपैयाँ बराबर लगानी छ। जलविद्युत कम्पनीहरूमा मात्रै सात अर्ब ५१ करोड रूपैयाँ कर्जा लगानी गरेको छ।
ठूलो पुँजी (२४ अर्ब ५५ करोड रूपैयाँ) भए पनि बजारबाट ऋणपत्रमार्फत पुँजी जुटाउँदै आएको छ।
यसले विगत पाँच वर्षमा औसत ५.५३ प्रतिशत लाभांश दिएको छ। आर्थिक वर्ष २०७७–७८ मा आठ प्रतिशत बोनस सेयर दिएको थियो।
एचआइडिसिएलको वार्षिक नाफा घट्न थालेको देखिन्छ।
आर्थिक वर्ष २०८०–८१ मा एक अर्ब ४५ करोड रूपैयाँ नाफा भएकामा आर्थिक वर्ष २०८१–८२ मा यो रकम घटेर ९७ करोड रूपैयाँ भएको छ।
बैंकमा राखेको निक्षेपको ब्याज कम भएसँगै चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमास (साउनदेखि असोज) मा यसको आम्दानी घटेको छ। ४१ करोडबाट यस्तो आम्दानी २७ करोड रूपैयाँ भएको छ।
ग्राहकबाट हुने आम्दानी भने ४५ लाखबाट बढेर एक करोड रूपैयाँ पुगेको छ।
यसको प्रति सेयर आम्दानी तीन रूपैयाँ १६ पैसा र प्रति सेयर नेटवर्थ एक सय १५ रूपैयाँ छ।
एचआइडिसिएलमा सरकारको ५०.७५ प्रतिशत, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष सबैको ५.०९ प्रतिशतका दरले सेयर छ। सर्वसाधारणको २०.३३ प्रतिशत र बाँकी अन्यको सेयर स्वामित्व छ।
सोमबार मूल्य बढेर हरियो मैनबत्ती बने पनि आइतबारको सुरू मूल्य विन्दु पार गरेको छैन। आगामी कारोबार हेरेर लगानी नीति बनाउन सकिन्छ।