बिहीबार नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेको छ। आज नेप्से परिसूचक ७४.९३ अंकले बढेर २,०३७.६४ बिन्दुमा पुगेको हो। अघिल्लो दिन पनि नेप्से परिसूचक ४१.३९ अंकले बढेको थियो।
नेप्से बढेसँगै कारोबार रकम पनि दुई अर्ब नाघेको छ। आज २२७ किसिमका धितोपत्र तथा ऋणपत्रको ७२ लाख ५४ हजार ७० सेयर किनबेच हुँदा दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो।
कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये २१९ वटाको मूल्य बढेको छ भने जम्मा ६ वटाको मूल्य घटेको छ। आज नेपाल फाइनान्स लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी र न्यादी हाइड्रो पावरको सेयर मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ।
त्यस्तै, कारोबारमा आएका १३ उपसमूहहरूमध्ये बिहीबार सबैको मूल्य बढेको छ। त्यसमध्ये पनि ट्रेडिङको ७.३१ प्रतिशत, फाइनान्सको ६.९८ प्रतिशत र विकास बैंकको ६.१३ प्रतिशतले बढेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड ९५ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ।