असोज ९ गते नेप्से नजिकको न्यूनतम बिन्दु १८१५ मा हुँदा लगानी गरेका लगानीकर्ताले कात्तिक २८ गते (सोमबार) सेयर बिक्री गर्दा पनि पाँचवटा कम्पनीमा १७ प्रतिशतदेखि करिब २० प्रतिशतसम्म कमाउन सफल भएका छन्।
ओरियण्टल होटेल
ओरियण्टल होटलको सेयर कारोबार असोज ९ गते चार सय १६ रूपैयाँमा कारोबार भइरहेको थियो। कात्तिक २८ गते यसको पाँच सय चार रूपैयाँमा कारोबार भइरहेको छ।
यदी यो अवधिमा किनेर कसैले बिक्री गरेको हुने थियो भने सो सेयरमा लगानीकर्तालाई मूल्य परिवर्तनबाट २१.१५ प्रतिशतसम्म फाइदा पुगेको छ।
अघिल्लो वर्ष २० करोड रूपैयाँ नोक्सानमा रहेको यो होटललेको गत वर्ष नोक्सान घटेर तीन करोड २० लाखमा सीमित भएको छ। अहिले होटेलहरूमा अकुपेन्सी दर (रुम बिक्री दर) बढेको खबरहरूले पनि यसको मूल्यमा सुधार आएको हुनसक्छ।
नेष्डो समृद्ध लघुवित्त
केही समयअघि मात्रै सूचीकृत भएको नेष्डो समृद्धको तुलना गरिएको अवधिमा सुरूमा दुई हजार सात सय १० रूपैयाँमा कारोबार भइरहेको थियो। हाल तीन हजार दुई सय २६ रूपैयाँमा कारोबार भइरहेको कम्पनीमा लगानीकर्तालाई १९ प्रतिशत नाफा भइरहेको छ।
कम्पनीको गत आवमा ७१ प्रतिशतले नाफामा वृद्धि भएको छ। भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि ११.३० प्रतिशतले वृद्धि भएको छ। कम्पनीको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी तीन सय ४७ रूपैयाँ पुगेको छ।
जाल्पा सामुदायिक लघुवित्त
जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य यो अवधिमा १८.३८ प्रतिशतसम्म बढेको छ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेसँगै कम्पनीको सेयरमा आकर्षण बढेको हो।
तर, पछिल्लो समय लघुवित्तहरूले वर्षमा चार पटकसम्म सेवा शुल्कको हिसाब गरेर तोकिएभन्दा बढी सेवा शुल्क उठाएको भन्दै राष्ट्र बैंकले उनीहरूलाई पत्राचार गरेको छ।
यस्तो भेटिएमा यस्तो सेवा शुल्क फिर्ता गर्न लगाउने राष्ट्र बैंकको नीति रहेकोले यस कम्पनीको पनि लाभांश दर संशोधन हुन सक्ने अपेक्षामा मूल्य स्थिर भइरहेको छ।
नेपाल पुनर्बीमा कम्पनी
नेपाल पुनर्बीमा कम्पनीको यो अवधिमा सेयर मूल्य १८.३७ प्रतिशतले वृद्धि भएको छ। पाँच सय ७७ मा कारोबार भइरहेको कम्पनीको मूल्य ६ सय ८३ रूपैयाँ पुगेको छ।
हालै संशोधन सहित जारी भएको बीमा ऐनले नियामक बीमा प्राधिकरणले तोकेको दरमा यहाँकै कम्पनीहरूमा पुनर्बीमा गर्नैपर्ने व्यवस्था गरिएको छ। त्यसबाहेक अटोमोबाइल, कृषि र लघुबीमाको पुनर्बीमा यहाँकै कम्पनीहरूमा गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।
यी व्यवस्थाले पुनर्बीमा कम्पनीहरूको व्यवसाय समेत बढ्ने अपेक्षामा आकर्षण बढेको देखिन्छ। हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनी सञ्चालनमा छन्।
तारागाउँ रिजेन्सी होटेल
तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य यो अवधिमा १७.४८ प्रतिशतले वृद्धि भएको छ। तीन सय २६ मा कारोबार भइरहेको होटेलको हाल तीन सय ८३ मा कारोबार भइरहेको हो।
अघिल्लो वर्ष चार करोड ९६ लाख रूपैयाँ नोक्सानमा रहेको होटेलको गत आर्थिक वर्षमा १८ करोड ८० लाख रूपैयाँ नाफा भएको छ। यसले पनि यसमा आकर्षण बढेको हुन सक्छ।
त्यस्तै, अहिले होटेलहरूमा अकुपेन्सी दर (रुम बिक्री दर) बढेको खबरहरूले पनि यसको मूल्यमा सुधार आएको हुनसक्छ।
अन्तिम पटक २०७६/७७ मा लाभांश बडेको कम्पनीको केही वर्षयताको औषत लाभांश दर ११ प्रतिशत छ।