बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १०.३० अंकले बढेर २६३८.६० विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ४ अर्ब २३ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब ४५ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३३३ वटा धितोपत्रको एक करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच भएको हो।
बुधबार १५७ कम्पनीको सेयरमूल्य बढेको छ भने ९० वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।
यसदिन साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५३१ रूपैयाँ ४० पैसा कायम भएको छ।
यस्तै, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५१९ रूपैयाँ ४० पैसा पुगेको छ।
यसैगरी, हिमालयन पावर पार्टनरको मूल्य सर्वाधिक घटेको छ।
उक्त कम्पनीको मूल्य ५.९८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४७२ रूपैयाँ पुगेको छ।
यस्तै, कुमारी सबल योजनाको मूल्य ३.८१ प्रतिशतले घटेर इकाइ मूल्य ९ रूपैयाँ ३३ पैसा कायम भएको छ।
बुधबार आखुँखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३५२ रूपैयाँमा २८ करोड ६९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.५६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको ४३० रूपैयाँमा २५ करोड ४७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले बढेको छ।