मुक्तिनाथ विकास बैंक १७ औं वर्ष पार गरी १८ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ।
यसै अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरूलाई सम्मान गरेको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महाबीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रीन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि ५ लाख रूपैयाँको आर्थिक सहयोगका गरेको छ।
यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत् १६६ युनिट रगत संकलन गरेको छ।
यस अवसरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरूमार्फत् गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहिन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथलय, बाल आश्रम तथा बृद्धा आश्रममा विभिन्न सामग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरता जस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरेको छ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।