करिब डेढ वर्षदेखि नेप्से परिसूचक 'साइडवेज मुभमेन्ट'मा छ।
२०७९ वैशाख महिनादेखि नेप्से साइडवेज मुभमेन्टमा देखिएको हो। दुई निश्चित विन्दुभित्र रहेर बजार तलमाथि गर्नुलाई 'साइडवेज मुभमेन्ट' भनिन्छ।
यो अवधिमा नेप्से २३ सय को उच्च विन्दु र १८ सयको न्यून विन्दु हुनेगरी तलमाथि गरिरहेको छ। यो अवधिमा बजारले २३ सय विन्दुमा कडा प्रतिरोध र १८ सय विन्दुमा दरिलो टेवा पाउँदै आएको छ।
यही कारण यो अवधिमा नेप्से बढ्दा २३ सयको विन्दु कट्न सकिरहेको छैन भने घट्दा १८ सय विन्दुभन्दा धेरै मुनि नआई फर्किरहेको छ।
साइडवेज मुभमेन्टको विशेषता यसले लगानीकर्तालाई बजारमा पस्ने र निस्कने समय स्पष्ट देखाएको हुन्छ। यो प्रवृत्ति चलिरहँदा बजारमा पस्ने विन्दु १८०० सय र निस्कने विन्दु २३ सय बनिरहेको छ।
तर, साइडवेज मुभमेन्टमा भने बजार बुलिश प्रवृत्तिमा रहेको समयमाभन्दा धेरै नाफा नहुन सक्छ। नाफा लिने अवसर पटक–पटक आउन सक्छ।
यो डेढ वर्षको अवधिमा नेप्सेले लगानीकर्तालाई चार पटकसम्म सजिलै कमाउने अवसर दिएको छ। यो डेढ वर्षमा नेप्से चार पटकसम्म १८ सय सयसम्म पुगेर फर्किने र २३ सय आसपास पुगेर घट्ने गर्दै आएको छ।
हाम्रो बजारमा यसले लगानीकर्तालाई झन् सजिलो हुन्छ। लगानीकर्ताले कुन कम्पनीको सेयर किनेर बजारमा पस्ने भनेर सोचिरहनु पर्दैन। किनभने हाम्रो बजार थाल्दा धेरै कम्पनीको पनि मूल्य बढ्छ र घट्दा पनि सबैजसो कम्पनीको मूल्य घटिरहेको हुन्छ।
एउटा उदाहरण हेरौं, दिव्यश्वरी हाइड्रोपावर कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म)मा चार लाख रूपैयाँ नोक्सानमा छ। कम्पनीसँग अझै करिब २६ करोड सञ्चित नोक्सान छ। तर, बजार यसरी निश्चित रेञ्जमा तलमाथि हुँदै गर्दा यो कम्पनीबाट समेत लगानीकर्ताले राम्रै प्रतिफल पाएका छन्।
गत कात्तिक २९ गते नेप्से १८ सय १७ विन्दुसम्म पुगेको थियो। त्यो दिन दिव्यश्वरीको सेयर १ सय ३६ रूपैयाँमा कारोबार भइरहेको थियो।
गत पुस ४ गते नेप्से २१ सय ५० विन्दुसम्म पुग्यो। त्यतिखेर दिव्यश्वरीको सेयर मूल्य पनि एक सय ८८ रूपैयाँसम्म पुग्यो। यो साढे दुई महिनामा लगानीकर्तालाई यो सेयरमा मूल्य परिवर्तनको कारण ३८ प्रतिशत प्रतिफल पाइयो वा फाइदा भयो।
यो प्रतिफल आकर्षक प्रतिफल नै हो। यो केही समयअघि बैंकहरूले निक्षेपमा दिएको उच्च ब्याजदरभन्दा पनि धेरै हो। अहिले बैंकहरूले निक्षेपमा दिने ब्याजदर थप घट्दैछ।
सेयर बजार सधै साइडवेज मुभमेन्ट रहँदैन। यो प्रवृत्ति अन्त्य हुँदा बजार बढ्न थालेको छ भने थप बढ्छ र घट्न थालेको छ भने थप घट्छ। नेप्सेले पनि २३–२४ सयको विन्दु पार गरेमा यसमा ब्रेक आउट भएर बजार थप बढ्न सक्छ।
बजारको अहिलेको तल्लो तह १८ सयको विन्दु ब्रेक आउट भएर घट्न सक्छ।
बजारमा एकभन्दा धेरै सकारात्मक खबर आउँदा यसरी बढेर वा नकारात्मक खबरहरू आउँदा घट्ने गरी ब्रेक आउटहरू देखापर्ने गर्छन्।
अहिले बैंकहरूबाट जाने सबैखाले कर्जा लगानी बढ्न सकेको छैन। तर पनि सेयर कर्जामा वृद्धि भइरहेको छ।
हालै मात्र राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार समेत घटाएको छ। बैंकको कर्जा र निक्षेप दुवैको ब्याजदर घट्दै गएको छ।
सेयर बजारमा समेत दैनिक कारोबार रकम बढेको छ। यसले सेयर बजारमा लगानीको माहोल विस्तारै सुधार भइरहेको संकेत गरिरहेको छ।
