मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा सुधार हुन सकेन। यस दिन नेप्से परिसूचक स्थिर देखिएको छ। नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा आइपुगेको हो।
हालै २१७८ सम्म पुगेको नेप्सेमा त्यसयता लगातार पाँच दिनदेखि घटेको हो। नेप्से करीब डेढ वर्षदेखि १८०० देखि २२ सयको विन्दु आसपासमा उतारचढाव हुँदै आएको छ।
वाणिज्य बैंकहरूको समूहमा सुधार आएमा मात्रै २२ सयको प्रतिरोध तोडिने आसमा रहेका लगानीकर्ताहरू बैंकहरूको वित्तीय विवरण सोचे अनुरुप नआएसँगै हताश देखिएका हुन्। यही कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन्। जसको संकेत मंगलबारको सेयर कारोबार रकमले समेत गरिरहेको छ।
मंगलबार सेयर कारोबार रकम ३२.५४ प्रतिशतले घटेको छ। सोमबार ६ अर्ब ३६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार यस्तो रकम दुई अर्ब सात करोड घटेर चार अर्ब २९ करोड रूपैयाँमा सीमित भएको छ।
यस दिन तीन सय १० वटाको सेयर कारोबार भएकोमा एक सय २५ वटाको मूल्य बढेको छ भने एक सय ६७ वटाको मूल्य घटेको छ। बाँकी १८ वटाको मूल्य स्थिर छ।
बजार घट्दा पनि चार वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ। यसरी मूल्य बढ्नेमा चन्द्रागिरी हिल्स, नेपाल ल्युब आयल, एनएमबी माइक्रोफाइनान्स र तेह्रथुम पावर कम्पनी छन्।
हिमालय रि-इन्स्योरेन्सको सबैभन्दा धेरै ५५ करोड ९ लाख रूपैयाँको सेयर कारोबार भएको छ। कारोबारमा आएकामध्ये विकास बैंक, वित्त कम्पनी, होटेल तथा पर्यटन, लगानी, निर्जीवन बिमा र ‘अन्य’ समूहगत परिसूचक बढेका छन्।