माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बाग्मती, कर्णाली र सुदुर-पश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ।
बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नगरपालिका वडा नं. १५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूर-पश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं. ०६, बडेहाँस्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुवै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
त्यसैगरी बैंकले बाग्मती प्रदेशको काठमाडौं महानगरपालिका वडा नं. ४ लम्टङ्गीनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ।
विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाएपछि बैंकले उक्त दुई सरकारी विद्यालयहरूको अवस्था अवलोकन गरी पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको हो।
२८९ जना विद्यार्थी एवम् १८ जना शिक्षक/कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रूपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या भोगिरहेको छ।
१८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुदाँ विद्यार्थी एवम् शिक्षकहरूले समस्या भोगिरहनु परेको छ।
विद्यालयको पूर्वाधार निर्माण गर्नेसम्बन्धी सम्झौता पत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन्। सम्झौता बमोजिम बैंकले श्री त्रिभुवन जन माध्यामिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ।
यसैगरी काठमाण्डौं महानगरपालिकाको नमुना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजनामा समस्या देखिएको भन्दै सभाहल निर्माणमा सघाउन आएको आग्रह अनुसार बैंकले उक्त स्कुलमा सभाहलको निर्माण गर्ने निणर्य गरेको हो।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघ-संस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दीगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ।