लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले डिजिटल बैंकिङ सेवा 'ओरेन्ज एनएक्सटी'को थालनी गरेको छ।
एफ१ सफ्ट अन्तर्गतको फोनएनएक्सटिसँगको सहकार्यमा सुरू गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ।
ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल-बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्नेछ। ग्राहकहरूको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेमा बैंक विश्वस्त छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ओरेन्जएनएक्सटी कोशेढुंगा साबित हुन सक्छ। परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै ओरेन्जएनएक्सटी मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरूलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ।
फोनएनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मुख्य उद्देश्यले ओरेन्जएनएक्सटीको विकास गरिएको हो। परिकल्पनात्मक सोचबाट प्रेरित यस ओरेन्जएनएक्सटीले बैंकिङ अनुभवमा ठूलो परिवर्तन ल्याउँदै ग्राहकहरूको अपेक्षाहरू पूरा गर्ने उनले विश्वास व्यक्त गरे।