एनआइसी एसिया बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भार दर तोडमोड गरेको समाचारका विषयमा आफ्नो भनाइ राखेको छ।
जोखिम भार तोडमोड र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको लगायत विषयमा प्रकाशित समाचारप्रति एक विज्ञप्ति जारी गर्दै एनआइसीले ध्यानाकर्षण गराएको जनाएको छ।
मंगलबार बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल राष्ट्रबैंकद्वारा जारी एकीकृत निर्देशनको क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ मा उल्लिखित रिस्क वेट क्लासिफिकेसन सम्बन्धी व्यवस्थाहरूमध्ये क्लेम्स सेक्योर्ड बाई रेजिडेन्टियल प्रपर्टिजभित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाइअनुरूप वर्गीकरण गरी सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष रिपोर्टिङ गरेकामा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठेपछि बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनका लागि अनुरोध गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा क्लेम्स सेक्योर्ड बाई रेजिडेन्टियल प्रपर्टिज सम्बन्धमा बैंकको बुझाइलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई रिपोर्टिङ गरिसकिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराउँछौं।'
बैंकले थप भनेको छ, 'यस विषयबाहेक बैंकले रियल स्टेट क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको प्रस्ट पार्दै रियल स्टेट क्षेत्रमा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा यस बैंकले २०८० पुस मसान्तसम्ममा १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको बेहोरा समेत सम्बन्धित सबैलाई प्रस्ट पार्छौं।'