अघिल्लो कारोबार दिन बिहीबार ६ प्रतिशतसम्म घटेर समयअगावै बन्द भएको बजार आइतबार भने उच्च अंकले बढेको छ।
आइतबार सेयर बजार परिसूचक नेप्से ४.४४ प्रतिशत (१११ अंक)ले बढेर २६ सय विन्दु माथि आएको छ। बजार बन्द हुँदा नेप्से २६२३ विन्दुमा आएको हो।
भदौ २३ र २४ गतेको प्रदर्शनपछि लगानीकर्ता अत्तालिदा सेयर बजार सूचक नप्से उच्च अंकले घटेको थियो।
तर, पछिल्लो समय सरकारले बजार सुधारको लागि कार्यदल नै बनाएपछि लगानीकर्ताको मनोविज्ञान दरिलो बन्दै गएको हो।
अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले सेयर बजारमा अहिले देखिएको समस्या समाधानको लागि कार्यदल बनाएको छ।
त्यस्तै, सेयर बजारमा पछिल्लो समय लाग्दै आएको अन्तिम समयको कारोबारको आधारमा गरिने परिसूचक गणना विधि आइतबारबाट हटाउने निर्णय भएको छ। आइतबार परिक्षणको रूपमा र अर्को दिनको कारोबारबाट पुर्ण रूपमा यो विधि हटाइने भएको हो।
लगानीकर्ताहरूले यो विधि हटाउनुपर्ने माग राख्दै आएका थिए। सरकार र नियामकहरूको प्रयास पछि बजारले सकारात्मक बाटो समातेको हो।
यस दिन उच्च रकमको कारोबार भएको छ। बिहीबार दिनभर जम्मा करिब सात मिनेट मात्र कारोबार हुन सकेको थियो। सोही कारण बिहीबार ७२ करोड रूपैयाँको मात्रै सेयर किनबेच भएको थियो।
आइतबार नौ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको छ। यो साउन २६ गते यताकै उच्च कारोबार हो। साउन २६ गते १० अर्ब २१ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
आइतबार कारोबारमा आएका मध्ये निर्जीवन बीमा कम्पनी र सामुहिक लगानी कोष समूह मात्रै घटेका छन्। व्यापार मुलक र लगानी समूह सबैभन्दा धेरै सात देखि आठ प्रतिशतसम्म बढेका छन्।
कारोबारमा आएका तीन सय २९ लगानी उपकरणमध्ये दुई सय ५४ वटाको मूल्य बढेको छ, ६० वटाको मूल्य घटेको छ। बाँकीको मूल्य स्थिर छ।
१४ वटा कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ। सिद्धार्थ प्रिमियर इन्सुरेन्सको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेको छ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ८३ करोड रूपैयाँको सेयर कारोबार भएको छ।