राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि घर भाडामा लिन खोजेको छ।
भदौ २४ गतेको आन्दोलनको क्रममा गभर्नर पौडेलको घर जलेपछि राष्ट्र बैंकले उनको बसोबासको लागि ललितपुर क्षेत्रमा घर भाडामा लिन खोजेको हो।
‘व्यक्तिगत जीवनमा समस्या परेपनि भदौ २४ को विध्वंसपछिको दिनदेखि नै गभर्नर काममा सक्रिय भइरहेका छन्,’ राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेले भने, ‘अनुसन्धान, अध्ययन क्षेत्रमा रहेका व्यक्तिको जीवनमा असहजता आएमा काम प्रभावित हुनसक्छ भनेर यसरी घर भाडामा खोज्ने निर्णय भएको हो।’
आन्दोलनका क्रममा आगजनी भएको भैंसेपाटीको घर योजना आयोगको उपाध्यक्ष हुनुअघि नै आफूले छात्रवृत्ति र देश विदेशमा काम गरेर आर्जन गरेको पैसाले घर बनाएको गभर्नर पौडेलले बताएका थिए।
आन्दोलनकारीले उनको चितवन स्थित पुर्ख्यौली घरमा समेत तोडफोड गरेका थिए।
भदौ २४ को घटनापछि गभर्नर पौडेल राष्ट्र बैंकको थापाथली स्थित कार्यालयको एउटा कोठामा बस्दै आएका छन्। परिवार भने अहिले साथमा छैनन्।
सञ्चालक समितिबाटै निर्णय भएर पौडलको लागि भाडामा घर खोज्न राष्ट्र बैंक लागेको हो।
तर, गभर्नर पौडेलले मात्रै यस्तो सुविधा पाएका भने होइनन्। यसअघिका १७ जना गभर्नरमध्ये चिरञ्जीवि नेपालले पनि राष्ट्र बैंकले उपलब्ध गराएको घर भाडामा बसेका थिए।
गभर्नर नेपालको घर सुविधाजनक नभएको, सुरक्षाको दृष्टिकोणले जोखिम हुनसक्ने भन्दै उनलाई पनि यस्तो सुविधा दिइएको थियो।
अहिले प्रदेशस्तरमा कार्यालयमा जाने प्रमुखहरूको लागि राष्ट्र बैंकले आफ्नै भवनमा आवासीय सुविधा दिने गरेको छ। तर, काठमाडौंमा भने आवासीय भवन नभएकोले पनि घर भाडामा खोजिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।
यसरी खोजिएको घर भाडाको लागत राष्ट्र बैंकले नै व्यहोर्ने छ। यस्तो लागत मासिक कति हुन्छ भन्ने यकिन नभएको अधिकारीहरू बताउँछन्।
राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले गोरखापत्रमा सार्वजनिक सूचना गभर्नर पौडेलका लागि घर भाडा दिन इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको हो।
अहिले भाडामा लिन खोजिएको घर कम्तीमा १६ आनादेखि अधिकतम २४ आनासम्मको भू–क्षेत्रमा बनेको हुनुपर्नेछ।
त्यस्तै, कम्तीमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र २.५ देखि ३ तलासम्मको हुनुपर्छ। घरमा कम्तीमा ४ वटा बेडरुमा भएको र यसमध्ये १ वटा मास्टर बेडरूम अनिवार्य हुनुपर्नेछ।
घरमा लिभिङ हल, किचन, डाइनिङ हल स्टोर रुम समेत हुनुपर्नेछ।
घरमा कम्तीमा ६ वटा कार वा जिप पार्क गर्न मिल्ने ठाउँ हुनुपर्नेछ।
सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग सिधा जोडिएको हुनुपर्नेछ। त्यस्तै विजुली, ढल निकास र खानेपानीको राम्रो व्यवस्था भएको हुनुपर्नेछ।
इच्छुक व्यक्ति, फर्म वा कम्पनीले नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागबाट घर भाडा प्रस्ताव सम्बन्धी कागजात प्राप्त गरी आवश्यक विवरण भरि प्रस्ताव पेस गर्न सकिने उल्लेख छ।