सिद्धार्थ बैंकले अब क्युआरमार्फत् सिधै क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने ‘फोनपे–क्रेडिट कार्ड’ ल्याउने भएको छ।
यसले कार्ड भुक्तानीलाई मोबाइल–स्क्यान मोडेलमा रूपान्तरण गर्दै डिजिटल कारोबारलाई अर्को चरणमा उकास्ने अपेक्षा बैंकको छ।
डिजिटल पेमेन्ट इकोसिस्टममा विगतदेखि नै सक्रिय सिद्धार्थ बैंकले मोबाइल बैंकिङ, कार्ड सेवा, भर्चुअल ई–कम कार्डदेखि सिस्टम अपग्रेड र सेवा प्रयोग अनुभव सुधारसम्ममा निरन्तर लगानी गर्दै आएको छ।
नेपालमा पछिल्ला वर्षयता डिजिटल भुक्तानीको विकास तीव्र गतिमा भइरहेको समयमा सिद्धार्थ बैंकले डिजिटल भुक्तानी क्षेत्रमा निरन्तर अग्रसरता चलाउँदै उल्लेखनीय उपस्थिति बनाउन सफल भएको छ।
देशभर सञ्चालनमा रहेका ५ हजार २६३ एटिएममध्ये सिद्धार्थ बैंकका एटिएम २२९ छन्, जुन कुलको करिब ४ प्रतिशत हो।
तर कारोबार रकमका हिसाबमा बैंकको हिस्सा ७ प्रतिशत पुगेको छ। वार्षिक १० खर्ब ८८ अर्ब रुपैयाँ बराबरको एटिएम कारोबारमध्ये सिद्धार्थ बैंक एक्लैबाट ७३ अर्ब ५१ करोड रुपैयाँ कारोबार भएको छ। एटिएम संख्याभन्दा कारोबार हिस्सा उच्च हुनु बैंकको प्रणाली, अपटाइम र निरन्तर निगरानीमा गरिएको लगानीको परिणाम मानिन्छ।
हाल मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या करिब २ करोड ७७ लाख रहेकोमा यस बैंकका ग्राहक संख्या ११ लाख ५९ हजार पुगेका छन्। बैंकको ग्राहक हिस्सा ४ प्रतिशत हो। तर कारोबार रकममा बैंकको हिस्सा ७ प्रतिशत छ।
सम्पूर्ण बैंकहरूको मोबाइल बैंकिङ कारोबार ५० खर्ब १८ अर्ब रुपैयाँ रहँदा यस बैंकबाट ३ खर्ब ४२ अर्ब रुपैयाँको कारोबार भएको छ। यसले बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरू सक्रिय र उच्च–मूल्य कारोबारकर्ता भएको संकेत गर्छ।
बैंकले मोबाइल एपलाई नियमित सुधार गर्दै आएको छ। प्ले स्टोर र एप स्टोर दुवैमा रेटिङ ४.६ पुगेको छ। २० वाणिज्य बैंकहरूमध्ये औसत रेटिङका आधारमा सिद्धार्थ बैंकको मोबाइल एप नम्बर १ रहन सफल भएको उल्लेख छ।
डेबिट कार्डमा बैंकको उपस्थिति ७ प्रतिशत (९ लाख १८ हजार कार्ड)र कारोबारमा पनि करिब ७ प्रतिशत छ। क्रेडिट कार्डमा बैंकको उपस्थिति अझ बलियो देखिन्छ।
३ लाख १८ हजारमध्ये बैंकबाट मात्रै ६० हजार कार्ड जारी भएका छन्। यस क्षेत्रमा रिवार्ड प्रणाली, सहकार्य योजनाहरू, इंस्टन्ट बेनेफिट, लाइफ स्टाइल पार्टनरशिप जस्ता सुविधाले माग बढाएको बैंकको मूल्यांकन छ।
प्रिपेड कार्डमा पनि बैंकको हिस्सेदारी करिब १४ प्रतिशत (३४,२२४ कार्ड) रहेको छ। कारोबार हिस्सामा बैंकको योगदान उच्च देखिन्छ।