बुधबार पाँच वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्।
यसमध्ये दुई बैंकको नाफा बढेको छ भने बाँकीको घटेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाफा गत वर्षको यही अवधिको तुलनामा घटेको छ।
यो अवधिमा नेपाल इन्भेष्टमेन्टले एक अर्ब ६१ करोड ३० लाख रूपैयाँ खुद नाफा गरेको छ।
यो गत आर्थिक वर्षको भन्दा ४३.०५ प्रतिशत कम हो। यसअघि नेपाल इन्भेष्टमेन्टले दुई अर्ब ८३ करोड २३ लाख रूपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेको र प्रावधानमा राखेको रकम बढेका कारण यसको खुद नाफा घटेको हो। यसको खुद ब्याज आम्दानी १२.८३ प्रतिशत घटेको छ।
बैंकले प्रावधानमा राखेको रकम एक अर्ब ७७ करोडबाट बढेर तीन अर्ब ९ करोड ४६ लाख रूपैयाँ पुगेको छ।
नाफासँगै नेपाल इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी पनि घटेको छ। यस्तो आम्दानी ९ रूपैयाँ ४५ पैसामा सीमित छ। यसको प्रतिसेयर नेटवर्थ एक सय ९४ रूपैयाँ ७७ पैसा छ।
नेपाल इन्भेष्टमेन्टको लाभांश क्षमता देखिदैन। यो अवधिसम्ममा यसको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख रूपैयाँ ऋणात्मक छ।
निष्क्रिय कर्जा ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेको छ।
त्यस्तै, प्रभु बैंकको खुद नाफा पनि घटेको छ। यसले एक अर्ब एक करोड रूपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो पटकभन्दा २४.०८ प्रतिशत कम हो। यसअघि प्रभुको नाफा एक अर्ब ३३ करोड रूपैयाँ थियो।
प्रभुको खुद ब्याज आम्दानी केही बढेपनि प्रावधान रकम बढेपछि नाफामा प्रभाव परेको हो। यसको खुद ब्याज आम्दानी २.३८ प्रतिशत बढेर चार अर्ब ९८ करोड पुगेको छ।
प्रावधान रकम ८१ करोड ४२ लाख रूपैयाँबाट बढेर १ अर्ब ४५ करोड रूपैयाँ पुगेको छ।
प्रभुको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रूपैयाँ ऋणात्मक छ। यसको प्रतिसेयर आम्दानी ८ रूपैयाँ ६२ पैसामा सीमित भएको छ।
प्रतिसेयर नेटवर्थ एक सय ४६ रूपैयाँ १७ पैसा छ। प्रभुको खराब कर्जा समीक्षा अवधिमा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ।
सिटिजन्स बैंकको पनि खुद नाफा घटेको छ। यसले ३५ करोड ८८ लाख रूपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यही अवधिको भन्दा ४५.७८ प्रतिशत कम हो।
यसअघि प्रभुले ६६ करोड १८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो।
सिटिजन्सको पनि खुद ब्याज आम्दानी केही बढेपनि प्रावधान रकम बढेको कारण नाफा घटेको हो।
यसको खुद ब्याज आम्दानी २.२८ प्रतिशत बढेर तीन अर्ब १४ करोड रूपैयाँ पुगेको छ। प्रावधान रकम भने एक अर्ब ३८ करोडबाट बढेर एक अर्ब ८३ करोड पुगेको छ।
यसको प्रतिसेयर आम्दानी पनि घटेको छ। सिटिजन्सको यस्तो आम्दानी चार रूपैयाँ ६३ पैसामा सीमित भएको छ।
यसको प्रतिसेयर नेटवर्थ एक सय ४९ रूपैया ७९ पैसा छ।
सिटिजन्सको वितरणयोग्य मुनाफा एक अर्ब १० करोड रूपैयाँ ऋणात्मक रहेको छ। यसको खराब कर्जा ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ।
त्यस्तै, एभरेष्ट बैंकको खुद नाफा भने गत आर्थिक वर्षको यही अवधिको तुलनामा केही बढेको छ।
यसले दुई अर्ब ११ करोड ७१ लाख रूपैयाँ खुद नाफा गरेको छ। यो २.०४ प्रतिशत बढी हो। यसअघि एभरेष्टले दुई अर्ब सात करोड ४७ लाख रूपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपछि नाफा पनि बढेको हो। खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेर चार अर्ब ५७ करोड रूपैयाँ पुगेको छ।
नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। यस्तो आम्दानी ३० रूपैयाँ ८६ पैसामा सीमित छ। एभरेष्टको प्रतिसेयर नेटवर्थ दुई सय ३५ रूपैयाँ छ। यो अवधिसम्ममा वितरणयोग्य मुनाफा तीन अर्ब ३४ करोड २८ लाख रूपैयाँ छ।
वार्षिकीकरण गरिएको लाभांश क्षमता ३१ प्रतिशत छ। एभरेष्टको निष्क्रिय कर्जा एक प्रतिशतभन्दा कम छ।
त्यस्तै, नेपाल बैंकको खुद नाफा उल्लेख्य बढेको छ। यसले एक अर्ब ३० करोड रूपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा एक सय ८३ प्रतिशत धेरै हो। यसअघि नेपाल बैंकले ४६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेपनि प्रावधान रकम उल्लेख्य घटेका कारण यसको खुद नाफा बढ्न सहयोग पुगेको हो।
नेपाल बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत घटेर चार अर्ब ४४ करोडमा सीमित भएको छ।
यसअघि दुई अर्ब ५२ करोड प्रावधान रकम राखेकोमा हाल यो रकम करिब ४८ करोड रूपैयाँ छ।
नाफा बढेपनि नेपाल बैंकले लाभांश दिनसक्ने देखिँदैन।
यसको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रूपैयाँ ऋणात्मक छ। यसको प्रतिसेयर आम्दानी बढेर १७ रूपैयाँ ७६ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ दुई सय ६२ रूपैयाँ ४३ पैसा छ।