सामान्यतयाः सेयर बजारको प्राविधिक विश्लेषणमा प्रयोग हुने ५० दिने र २०० दिने मुभिङ एभरेज दीर्घकालीन प्रवृत्ति प्रक्षेपण गर्न प्रयोग गरिन्छ।
तर पछिल्लो समय नेप्सेमा यी दुई रेखाबीच चाँडो चाँडो क्रस–ओभर भएको देखिन्छ।
किन त यसले संकेत अनुसार दीर्घकालीन प्रवृत्ति देखाउन सकिरहेको छैन?
त्यसभन्दा अघि बुझौं यी रेखाले कस्तो संकेत गर्छन्।
सेयर मूल्य वा बजार सूचकमा बनाइने ५० दिने मुभिङ एभरेज रेखाले २ सय दिने रेखालाई काटेर माथिमा लागेमा गोल्डेन क्रस–ओभर भएको मानिन्छ। यसले बजार वा सेयर मूल्य केही लामो समयसम्म बढ्न सक्ने दरिलो संकेत गर्छ।
त्यस्तै, २ सय दिने रेखाले माथिबाट ५० दिने मुभिङ एभरेज रेखालाई काटेर तल आएमा डेथ क्रस–ओभर भएको मानिन्छ। यसले भने बजार वा सेयर मूल्य केही लामो समयसम्म घट्न सक्ने संकेत गर्छ।
नेप्सेमा २०८१ जेठमा गोल्डेन क्रस–ओभर देखिएर केही लामो समयसम्म बुलिस प्रवृत्ति देखियो। २०८२ कात्तिकसम्मै यो प्रवृत्तिमा रहिरह्यो।
गत कात्तिक मध्यमा भने २ सय दिने रेखाले माथिबाट ५० दिने मुभिङ एभरेज रेखालाई काटेर तल आयो। नेप्सेमा डेथ क्रस–ओभर संकेत देखियो र नेप्से २६२२ विन्दुबाट २५४० सम्म ओर्लियो।
त्यसको केही समयमै नेप्सेमा गोल्डेन क्रस–ओभर देखियो। गत फागुन मध्यमा नेप्से २६१६ सम्म रहेकामा बढ्दै २८७५ सम्म पुग्यो।
यो सोमबारसम्म बजारमा गोल्डेन क्रस–ओभर कायमै छ। यी दुई रेखाबीचको दुरी पनि कायमै छ। यसले बजारमा बुलिस प्रवृत्ति कायमै रहेको संकेत गरिरहेको छ।
नेप्सेमा यसअघि पनि छिटो छिटो यस्ता क्रस–ओभर हुने गरेको देखिन्छ। २०८१ जेठभन्दा पहिले नेप्सेमा दुई–तीन महिनाको अन्तरालमै पटक पटक क्रस–ओभर देखियो।
यसरी पटक पटक क्रस–ओभर हुनु भनेको सेयर बजारले स्पष्ट प्रवृत्ति संकेत गर्न नसकिरहेको भन्ने हो। यसले बजारमा अनिर्णय हावी भइरहेको र बजार निश्चत गतिमै तलमाथि भइरहेको संकेत गर्छ।
यसरी बारम्बार यस्ता क्रस–ओभर देखिँदा लगानीकर्ता झुक्किन सक्छन्। बजारले गलत संकेत (ह्विप–स) दिने गरेको छ।
नेपालको बजार तुलनात्मक रूपमा सानो भएको र यहाँका सेयर कारोबारको दर (तरलता) कम भएकाले नेप्सेले बेला बेला यस्तो गलत संकेत दिन्छ।
त्यसैले नेप्सेमा देखिने हरेक क्रस–ओभरलाई मात्रै हेरेर निर्णय लिनु सही हुँदैन। यस्ता संकेत सुनिश्चितताका लागि मैनबत्ती चित्र विश्लेषण, सेयर बजारमा देखिने अन्य रेखा प्रवृत्ति र कारोबार संख्यालाई पनि ध्यान दिनुपर्छ।
उदाहरणका लागि, क्रस–ओभर संकेतपछि पनि नेप्सेमा लामो लामो धागो भएका मैनबत्ती चित्र देखिएका छन्। वा, नेप्से लगातार एउटै टेवा विन्दुबाट बढ्ने र एउटै प्रतिरोध विन्दुबाट घट्ने गरिरहेको छ भने क्रस–ओभरले गलत संकेत दिइरहेको हुन सक्छ।
अब सेयर लगानीकर्ताले के गर्ने त?
अहिले नै लगानीकर्ता आत्तिहाल्नुपर्ने अवस्थादेखिँदैन। किनभने अहिले पनि नेप्सेले यसअघिझैं २७९३ को विन्दुमा ३८ प्रतिशतले रिट्रेस (फिबोनाची रिट्रेसमेन्ट) गर्ने प्रयास गरिरहेको छ।
फिबोनाची रिट्रेसमेन्टको फाइदा भनेको यसले बजारको महत्त्वपूर्ण टेवा वा प्रतिरोध विन्दु पत्ता लगाउँछ। यसको महत्त्वपूर्ण विन्दुहरूमा ३८ प्रतिशत, ५० प्रतिशत र ६१ प्रतिशत मानिन्छन्।
नेप्सेले फेरि पनि ३८ प्रतिशतको रिट्रेस पाएर बढ्ने प्रयास गरेको देखिन्छ।
यस्तो भएमा बजारमा अर्को संकेत पनि देखिनेछ।
नेप्से सोमबार आइपुगेको विन्दु २७९८ बाट बढ्यो भने रेखा चित्रमा 'डबल बटम' बनाउने देखिन्छ। यो आकृति अंग्रेजी डब्लु अक्षर जस्तै हुन्छ। यस्तो भएमा बजार बढ्ने प्रवृत्तिमा थप माथि जाने मानिन्छ।
यो पनि पढ्नुस्- अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?