बालेन शाह सरकारको सक्रियतासँगै उच्च दरमा बढेको सेयर बजार बिस्तारै स्वाभाविक लयमा आउन थालेको छ।
मुनाफा सुरिक्षत गर्ने क्रमले बुधबार बजार करिब १४ अंकले घट्यो।
नयाँ सरकार बनेयता सेयर बजार निरन्तर ओरालो लागेको भन्दै आलोचित बनेपछि प्रधानमन्त्री बालेनले व्यवसायी तथा लगानीकर्ता भेटेका थिए। उनको सक्रियतासँगै सेयर बजार फर्किएको थियो।
लगानीकर्ताको मनोविज्ञान उकास्न सरकार प्रमुखको भूमिकाले काम गरिसकेको छ। तर यस्तो भूमिकाको प्रभाव क्षणिक हुन्छ। वास्तविक प्रभाव अबका दिनमा हुने कामकार्यवाही र सूचीकृत कम्पनीहरूको गत आर्थिक वर्षको कार्यसम्पादनले पार्नेछ।
बजार दिगो रूपमा बढ्ने भनेको आधारभूत पक्षले नै हो। आधारभूत पक्ष दरिलो भएमा बजार स्वाभाविक लयमा अगाडि बढ्छ।
अहिल सूचीकृत कम्पनीहरूको मूल्यांकन गर्ने समय पनि हो। सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८२–२०८३ को वित्तीय विवरण प्रकाशन गरिरहेका छन्। यस्ता कम्पनीको वित्तीय अवस्थामा के कस्ता सुधार भए र यिनीहरूबाट के कस्ता प्रतिफल प्राप्त हुन सक्छ भन्ने कुराले नै अबको केही समय बजार निर्देशित गर्नेछ।
आज हामी हालै वित्तीय विवरण प्रकाशन गरेका दुई कम्पनीको अवस्था हेरेका छौं — आरएसडिसी लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंक।
आरएसडिसी लघुवित्त
आरएसडिसी लघुवित्तको नाफा ३५ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा १० करोड १८ लाख रूपैयाँ नाफा कमाएको आरएसडिसीले २०८२/८३ मा १३ करोड ८२ लाख रूपैयाँ नाफा कमाएको हो।
यसको नाफा बढ्नुमा मुख्य योगदान यसअघि जोखिमका लागि राखिएको प्रावधान फिर्ता (राइट ब्याक) हो।
व्यवसायको मुख्य आधार खुद ब्याज आम्दानी १४ प्रतिशतले घटे पनि राइट ब्याकले नै नाफा बढेको हो। यसअघि यस्तो आम्दानी २२ करोड ३६ लाख भएकामा अहिले १९ करोड १५ लाख रूपैयाँ पुगेको छ।
यसले जोखिमका लागि राखिएको ५ करोड ५८ लाख रूपैयाँ राइट ब्याक गरेको छ। यसअघि दुई करोड ६८ लाख रूपैयाँ प्रावधानमा राखेको थियो।
यसको अन्य खर्च र ह्रास कट्टी रकम केही घटेर पनि नाफा बढ्न सहयोग पुगेको हो।
आरएसडिसीको निष्क्रिय कर्जामा केही वृद्धि देखिएको छ। यसको निष्क्रिय कर्जा ३.९२ प्रतिशत छ। यसअघि ३.३४ प्रतिशत थियो। संस्थाहरूमा कर्जा लगानी गर्ने भएकाले पनि यसको निष्क्रिय कर्जा कम छ।
थोक कर्जा अर्थात् लघुवित्त र सहकारीहरूलाई कर्जा दिने व्यवसाय सुस्त भएको छ। यसअघि संस्थाहरूमा ६ अर्ब २७ करोड रूपैयाँ कर्जा लगानी गरेकामा अहिले ४ अर्ब २४ करोड रूपैयाँ लगानी गरेको छ।
नाफा बढेसँगै आरएसडिसीको प्रतिसेयर आम्दानी नौ रूपैयाँबाट बढेर १३ रूपैयाँ ३७ पैसा पुगेको छ। यसको प्रतिसेयर नेटवर्थ १३१ रूपैयाँ छ।
यसले अहिले नाफापछि १०.९७ प्रतिशत लाभांश क्षमता देखाएको छ। अघिल्लो पटक नगद लाभांश मात्रै दिएको थियो। सो समय ८ प्रतिशत नगद लाभांश दिएको यसले पाँच वर्षमा औसत ९.७१ प्रतिशत लाभांश दिएको छ।
बजारको पछिल्लो साइडवेज (निश्चित अंकको उतारचढावमा) आरएसडिसीको सेयर मूल्य ६०० देखि ८०० रूपैयाँसम्म रहन्छ। हाल ६७७ रूपैयाँमा कारोबार भइरहेको आरएसडिसीको सेयर मूल्य बुधबार ९ रूपैयाँ बढेको हो।
बुधबार आरएसडिसीको सेयर मूल्यले तल्लो लामो धागो भएको र सानो हरियो शरीर भएको मैनबत्ती आकृति बनाएको छ। बढ्दो क्रमपछि देखिएको यो आकृतिलाई ह्याङगिङ म्यान भनिन्छ।
यसले सेयर बिक्री बढेको संकेत गर्छ। यो आगामी दिनमा मूल्य घट्न सक्ने संकेत भए पनि दरिलो भने होइन। मैनबत्ती चित्र विश्लेषण छोटो अवधिको प्रवृत्ति विश्लेषणमा मात्रै प्रयोग गरिन्छ।
सांग्रिला डेभलपमेन्ट बैंक
यो बैंकको नाफा ४६.६९ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८१–८२ मा ६० करोड ६६ लाख रूपैयाँ नाफा कमाएको सांग्रिलाले २०८२–८३ मा ८८ करोड ९९ लाख रूपैयाँ नाफा कमाएको हो।
व्यवसायमा भएको वृद्धिले नै यसको नाफा बढ्न सहयोग पुगेको हो।
सांग्रिलाको व्यवसायको मुख्य आधार खुद ब्याज आम्दानी १६.६३ प्रतिशतले बढेर दुई अर्ब ४२ करोड रूपैयाँ पुगेको छ। शुल्क कमिसनबाट हुने आम्दानी र अन्य आम्दानीमा पनि सुधार भएको छ। शुल्क कमिसनबाट हुने खुद आम्दानी २५ करोड र अन्य सञ्चालन आम्दानी २७ करोड रूपैयाँ पुगेको छ।
सांग्रिलाले यसअघि प्रावधानमा ३४ करोड रूपैयाँ राखेकामा हाल नौ करोड रूपैयाँ राखेको छ। यसको निष्क्रिय कर्जामा थप केही वृद्धि देखिएको छ। अहिले निष्क्रिय कर्जा ६.८७ प्रतिशत छ, यसअघि ५.५२ प्रतिशत थियो।
नाफा बढेसँगै सांग्रिलाको प्रतिसेयर आम्दानी १७ रूपैयाँ ६ पैसाबाट बढेर २३ रूपैयाँ ८३ पैसा पुगेको छ। यसको प्रतिसेयर नेटवर्थ १६९ रूपैयाँ छ।
यसले अहिले नाफापछि १३.१९ प्रतिशत लाभांश क्षमता देखाएको छ। अघिल्लो पटक यसले नगद लाभांश मात्रै दिएको थियो। सो समय १०.३५ प्रतिशत लाभांश दिएको यसले पाँच वर्षमा औसत ७.७९ प्रतिशत लाभांश दिएको छ।
हालको साइडवेजमा यसको सेयर मूल्य ३८० देखि ५१४ रूपैयाँसम्म रहन्छ। बुधबार ४२५ रूपैयाँमा यसको कारोबार भयो जुन स्थिर मूल्य हो।
पछिल्ला तीन दिनयता लगातार बढिरहेको सांग्रिलाको मूल्य बुधबार भने ब्रेक लागेको हो। बुधबार सुरू मूल्यभन्दा माथि नै रहेर बजार बन्द भएपछि यसमा माथिल्लो लामो धागो भएको र सानो शरीर भएको दोजी आकृति बनेको छ। यसले सांग्रिलाको हालको मूल्यलाई लिएर लगानीकर्तामा अन्योल रहेको संकेत गर्छ।