नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी (सिक्का) र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकको टक्सार महाशाखाले कात्तिक १९ र २० गते दुई दिन असर्फी तथा मेडालियन बिक्री गर्ने गरी सूचना जारी गरेको छ।
महाशाखाका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी किन्न पाइनेछ।
त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि एक–एक थान किन्न पाइनेछ।
एक व्यक्तिले बढीमा दुई थान चाँदीका मेडालियन मात्र किन्न पाउनेछ।
बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री हुनेछ।
मौज्दात रहेसम्म लाइनमा आउने सेवाग्राहीलाई असर्फी र मेडालियन उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।
खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुन भनिएको छ।
खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन्।
असर्फी र मेडालियनको मूल्य दैनिक निर्धारण गरिने बताइएको छ।
बिहान करिब ११ बजे मूल्य तय भएपछि मात्र बिक्री सुरू हुने राष्ट्र बैंकले जनाएको छ।