कुमारी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) मा आबद्ध भएको छ।
बैंकले पिसिएएफको सदस्य बन्दै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ।
पिसिएएफको सदस्य बनेसँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक खुलासा गर्न पिसिएएफले विश्वव्यापी रूपमा मान्यता दिएको मापदण्ड तथा विधि प्रयोग गर्ने जनाएको छ।
यसबाट बैंकको जलवायुसम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन र दिगो वित्तसम्बन्धी अभ्यास थप सुदृढ हुने अपेक्षा गरिएको छ।
'हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न तथ्य र जानकारीमा आधारित निर्णय लिन सहयोग पुग्नेछ,' उनले भने ।
बैंकले दिगो वित्तका अवसर विस्तार गर्नुका साथै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ।
साथै, नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउन सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने बैंकको भनाइ छ।
देशभर २७९ शाखा, २९६ एटिएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ पीओएस टर्मिनलमार्फत सेवा दिँदै आएको बैंकले डिजिटल तथा मोबाइल बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ।
पिसिएएफ सन् २०१९ सेप्टेम्बरमा विश्वव्यापी रूपमा स्थापना भएको हो।
पिसिएएफमा सहभागी वित्तीय संस्थाहरूले वित्तीय क्षेत्रका लागि ग्लोबल जीएचजी अकाउन्टिङ एन्ड रिपोर्टिङ स्ट्यान्डर्ड विकास तथा कार्यान्वयन गर्दै आफ्ना ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा खुलासा गर्ने गर्छन्।