भदौ १० गते रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूलीमा आएको बाढीको कारण दर्जनभन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ।
यसमध्ये सेयर बजारमा सूचीकृत सात कम्पनीमध्ये केहीको आयोजना नै क्षतिग्रस्त भएका छन् भने केही कम्पनीका आयोजना त बचेका छन् तर प्रसारण लाइनमा समस्या आएको छ।
यही कारण लगभग सात वटै कम्पनीका आयोजनाहरूबाट अहिले विद्युत उत्पादन बन्द छ।
प्रसारण लाइनमा मात्रै समस्या भएका आयोजनाले त केही समयपछि नै उत्पादन सुरू गर्लान्, तर अन्यको के हुन्छ भन्ने अहिले भन्न सकिने अवस्था छैन।
अहिले बाढीले १११ मेगावाटको रसुवागढी, २२.१ मेगावाटको चिलिमे जलविद्युत, ५ मेगावाटको मैलुङ खोला र ३७ मेगावाटको माथिल्लो त्रिशूलीको आयोजनामै क्षति पुगेको छ।
त्यस्तै, १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला, ११ मेगावाटको माथिल्लो टाडी खोला, सान्जेन जलविद्युतका सान्जेन र माथिल्लो सान्जेन आयोजनामा भने क्षति पुगेको छैन।
प्रसारण लाइन र इन्टरकनेक्सन वेमा क्षति पुगेको कारण यी आयोजनाको उत्पादन तत्काललाई बन्द छ।
तर, यी सबै सात वटै कम्पनीको सेयर कारोबार भइरहेको छ।
के आयोजनामा प्रभाव परेकै आधारमा अन्यत्र पनि कारोबार रोकिन्छ?
नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्, 'अन्य मुलुकमा पनि प्रभाव परेको छ भन्ने आधारमै भने कारोबार रोक्का हुँदैन, तर मार्जिन कारोबार गर्न सकिने सूचीमा रहेका कम्पनीहरूलाई हाल नेप्सेको जस्तै नगदै कारोबार (क्यास ट्रान्जेक्सन) हुने प्रणालीमा भने सारिन्छ।'
नेपालमा मार्जिन कारोबार गर्न सकिने घोषणा भए पनि अभ्यासमा खासै आएको छैन।
यही अन्तर्राष्ट्रिय उदाहरणको आधारमा आयोजनामै क्षति पुगेका रसुवागढी, चिलिमे, मैलुङ खोला र माथिल्लो त्रिशूलीको समेत अहिले कारोबार रोक्का गरिएको छैन।
तर, लगानीकर्तालाई लगानी निर्णय लिन यी आयोजनाको बारेमा आवश्यक धेरै कुराको जानकारी नै छैन।
जस्तो कि, यी आयोजनाको बीमा गरिएको छ, छैन?
पूर्ण वा आंशिक कति बीमा गरिएको छ? आयोजना पुनः सञ्चालनमा आउन सक्ने अवस्था छ, छैन?
लगायतका कुनै कुराको जानकारी लगानीकर्ताहरूसँग छैन।
यस्तोमा कुन आधारमा सेयर लगानीकर्ताहरूले लगानी निर्णय लिने?
निर्णय गर्ने आधार नै नभएको अवस्थामा के यस्ता कम्पनीको कारोबार रोक्नुपर्ने अवस्था होइन?
यो प्रश्नमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य भन्छन्, 'कुनै कारणले कुनै कम्पनीको सेयर कारोबार रोक्का गर्नुपरेमा स्टक एक्सचेन्जले धितोपत्र बोर्डको पूर्वस्वीकृति लिएर गर्न सक्छ।'
आयोजनाहरूको विवरण संकलनको काम भइरहेकोले के गर्ने भन्नेमा अहिले नेप्से र धितोपत्र बोर्डले कुनै निर्णय गर्न नसकेका हुन्।
धितोपत्र बोर्डले भदौ १५ गते नेप्सेलाई यी आयोजनाको हालको अवस्था, बीमाको अवस्था, बीमा दाबी प्राप्तिको सम्भावना, आयोजना पुनः सञ्चालन हुन सक्ने नसक्ने सम्बन्धमा जानकारी गराउन पत्राचार गरेको छ।
त्यस्तै, यस्ता कम्पनीको सेयर मूल्यमा हुनसक्ने अस्वाभाविक परिवर्तन, असामान्य कारोबार वा अस्वाभाविक खरिदबिक्री भए निगरानी गरेर बोर्डलाई जानकारी गराउन समेत निर्देशन दिएको छ।
नेप्सेले कम्पनीहरूसँग पनि यस सम्बन्धमा भदौको तेस्रो साता नै जानकारी माग गरेको छ।
हाल कम्पनीहरूले आयोजनाको अवस्थाको बारेमा समान्य जानकारी मात्रै पठाएका छन्।
विस्तृत जानकारी भने नेप्सेले समेत प्राप्त गरिसकेको छैन।
यो अवधिमा चिलिमे जलविद्युतको सेयर मूल्य २३ प्रतिशतले, रसुवागढी र मैलुङ खोलाको ३१ प्रतिशत र माथिल्लो त्रिशूलीको मूल्य ३२ प्रतिशतले घटेको छ।
यी कम्पनीको प्रतिकित्ता २८५ देखि ३६३ रूपैयाँमा कारोबार भइरहेको छ।