बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने ग्राहकले तिर्नुपर्ने औसत ब्याजदर साढे ६ प्रतिशतभन्दा तल झरेको छ।
कर्जाको ब्याजदर निरन्तर घट्दै जाँदा अहिले बैंक तथा वित्तीय संस्थाबाट औसत ६.५ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा पाइन थालेको हो।
यो हालसम्मकै न्यून ब्याजदर हो।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत साउनसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कर्जाको औसत ब्याजदर ६.४८ प्रतिशतमा झरेको छ।
राष्ट्र बैंकले हरेक महिना प्रकाशित गर्दै आएको ब्याजदरसम्बन्धी तथ्यांक हेर्दा २०६२ साउनयता कुनैपनि महिनामा कर्जाको औसत ब्याजदर ६.४८ प्रतिशतको तहमा आएको देखिँदैन।
यस हिसाबले साउनमा कायम भएको कर्जाको औसत ब्याजदर उक्त अवधिकै न्यून हो।
कर्जाको ब्याजदर घट्नुमा बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुनु प्रमुख कारण देखिएको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा कर्जा विस्तार हुन सकेको छैन।
निक्षेप बढ्दै जाने तर कर्जाको माग तथा विस्तार अपेक्षाअनुसार नबढ्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको उपलब्धता बढेको छ।
गत साउनसम्म बैंक तथा वित्तीय संस्थाले ८२ खर्ब ६८ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् भने कर्जा लगानी ५९ खर्ब ४९ अर्ब रूपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को करिब १२० प्रतिशत बराबर पुगेको छ।
त्यस्तै, कर्जा जिडिपीको ९०.१५ प्रतिशत बराबर पुगेको छ।
बैंकिङ प्रणालीमा कर्जा प्रवाहका लागि पर्याप्त रकम रहे पनि कर्जा विस्तार सुस्त हुँदा बैंकहरूले आफ्नो अतिरिक्त रकम राष्ट्र बैंकमा राखिरहेका छन्।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राखेको यस्तो रकम १३ खर्ब रूपैयाँभन्दा बढी पुगेको छ।
बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको र कर्जाको माग कमजोर रहेको अवस्थाले कर्जाको ब्याजदर घटाउन बैंकहरूबीच प्रतिस्पर्धा बढाएको देखिन्छ।
निक्षेपको ब्याजदर पनि अहिले निकै न्यून तहमा आएको छ।
बैंक तथा वित्तीय संस्थाले निक्षेपमा औसत ३.१५ प्रतिशत ब्याज दिइरहेका छन्।
निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दर तथा कर्जाको ब्याजदर पनि क्रमशः तल आएको हो।
तर सबै प्रकारका कर्जाको ब्याजदर भने समान छैन।
कर्जाको प्रकार, ग्राहकको जोखिम, कर्जाको अवधि तथा बैंकको आधार दरलगायतका आधारमा ब्याजदर फरक हुने गर्छ।
अहिले बैंक तथा वित्तीय संस्थाले विभिन्न कर्जामा औसतमा ५.५३ प्रतिशतदेखि ७.३० प्रतिशतसम्म ब्याज लिइरहेका छन्।
उपलब्ध तथ्यांकअनुसार सबैभन्दा कम औसत ब्याजदर विपन्न वर्गमा प्रवाह हुने कर्जामा देखिएको छ।
यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले औसत ५.५३ प्रतिशत ब्याज लिइरहेका छन्।
त्यसपछि सेयर धितो कर्जाको औसत ब्याजदर ६.३६ प्रतिशत रहेको छ।
रियल इस्टेट कर्जाको औसत ब्याजदर ६.६५ प्रतिशत छ।
त्यस्तै, २ करोड रूपैयाँसम्मको आवासीय कर्जामा औसत ६.९२ प्रतिशत ब्याजदर कायम रहेको छ।
अटो लोनको औसत ब्याजदर भने ६.९९ प्रतिशत छ।
यसरी हेर्दा अहिले औसत ब्याजदरका आधारमा सबैभन्दा सस्तो कर्जा विपन्न वर्गमा जाने कर्जा रहेको छ।
त्यसपछि सेयर धितो कर्जा, रियल स्टेट कर्जा, २ करोड रूपैयाँसम्मको आवासीय कर्जा र अटो लोनको ब्याजदर क्रमशः माथि रहेको छ।
कर्जाको औसत ब्याजदर ऐतिहासिक न्यून तहमा आए पनि यसको अर्थ सबै ग्राहकले एउटै दरमा कर्जा पाउँछन् भन्ने होइन।
बैंकअनुसार आधार दर, प्रिमियम, कर्जाको प्रकृति र ग्राहकको जोखिम मूल्यांकन फरक हुने भएकाले वास्तविक रूपमा ग्राहकले तिर्नुपर्ने ब्याजदर पनि फरक हुन सक्छ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहँदा र कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा आगामी दिनमा पनि ब्याजदरमा दबाब कायम रहने सम्भावना देखिन्छ।
तर कर्जा विस्तार बढ्न थालेमा बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता क्रमशः कर्जातर्फ जाने भएकाले ब्याजदर घट्ने गति भने परिवर्तन हुन सक्छ।