मुक्तिनाथ विकास बैंकले 'नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३' तथा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्।
बैंकको आधार दर ५.५३ प्रतिशत रहेकाले कात्तिक मसान्तसम्म ग्राहकले ५.७८ प्रतिशत ब्याजदरमा घरकर्जा पाउने बैंकले जनाएको छ।
बैंकका अनुसार घरजग्गाको मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ।
पहिलो घर कर्जाको हकमा भने अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा लिन सकिनेछ।
चाडपर्वको अवसरमा आफ्नै घर बनाउने वा खरिद गर्ने योजना बनाएका ग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जनाएको छ।
विशेष घरकर्जा योजना २०८३ साल कात्तिक मसान्तसम्म लागू हुनेछ।
त्यसपछि भने बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जाका अन्य शर्तहरू लागू हुने बैंकको भनाइ छ।