गत भदौ १५ गतेयता नेप्से सानोतिनो उतारचढावसहित बढ्दो क्रममा छ।
भदौ १६ गते २५०१ विन्दुमा रहेको नेप्से बढ्दै २६७९ विन्दुसम्म पुगेको थियो।
केही दिनदेखि भने नेप्से यो उचाइमा अडिन सकिरहेको छैन। वृद्धिको गति पनि सुस्तिएको छ।
यद्यपि, भदौ १६ गतेको तुलनामा नेप्से अझै १२८ अंक माथि छ। बिहीबार बजार २६२९ विन्दुमा पुगेको थियो।
यो विन्दुमा अहिले नेप्सेलाई यसैको २०० दिने मुभिङ एभरेज (औसत) रेखाले प्रतिरोध दिइरहेको छ। करिब सात दिनअघि २६८० विन्दु आसपास पुग्दा पनि नेप्से यही औसत रेखामा रोकिएर तल झरेको थियो। गत बुधबार पनि नेप्सेले यही रेखामा प्रतिरोध सामना गरेको थियो।
त्यस्तै, अहिले नेप्सेको मैनबत्ती चित्रमा 'थ्रस्टिङ बियरिस' आकृति बनेको छ। गत बुधबार र बिहीबारको कारोबारमा यस्तो आकृति देखिएको हो।
बुधबार बजार खुल्दा नेप्से २६७० विन्दुमा थियो। दिनभर घटेर बजार बन्द हुँदा नेप्से २६१८ विन्दुमा आयो। यस दिन लामो रातो मैनबत्ती बनेको थियो।
बिहीबार भने अघिल्लो दिनको बन्द विन्दुभन्दा तल अर्थात् २६११ बाट बजार खुलेको थियो। त्यसपछि नेप्से केही बढेर २६२९ विन्दुमा पुगेर बन्द भयो। तर, बिहीबारको कारोबारको मध्यविन्दु २६४४ लाई समेत पार गर्न सकेन।

सामान्यतया बजार घट्दो क्रममा रहँदा थ्रस्टिङ बियरिस आकृति बन्छ। अहिले भने बजार बढेर केही समय थामिने क्रममा यस्तो आकृति देखिएको छ।
अवस्था फरक भए पनि यसले बजारमा देखिएको खरिद–बिक्रीको दबाबबारे समान संकेत गर्छ।
बुधबार बजारमा बिक्रीको दबाब उच्च रहेको र बिहीबार खरिददारी बढ्न खोजे पनि त्यो बलियो हुन नसकेको यसले संकेत गर्छ।
यसले बजार फेरि घट्दो प्रवृत्तिमा जान सक्ने सम्भावना देखाए पनि यो आफैमा बलियो वा भरपर्दो संकेत भने होइन।
त्यसैले आगामी कारोबारमा बजारले कस्तो दिशा लिन्छ भन्ने हेर्नु महत्त्वपूर्ण हुन्छ। विशेषगरी सोमबारको कारोबारले यो आकृति र बजारको दिशाबारे थप संकेत दिन सक्छ।
बजारको वृद्धि सुस्तिएको समयमा केही सकारात्मक घटनाक्रम पनि अघि बढेका छन्।
राष्ट्र बैंकले बिहीबार साँझ परिपत्र जारी गर्दै बैंकहरूले सेयर बजारमा गरेको लगानी चार महिनापछि नै बिक्री गर्न सक्ने व्यवस्था गरेको छ। यसअघि बैंकहरूले यस्तो लगानी कम्तीमा ६ महिनापछि मात्रै बिक्री गर्न पाउने व्यवस्था थियो। त्यसअघि भने यस्तो अवधि एक वर्ष थियो।
केही साताअघि अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजार सुधारको २१ बुँदे कार्ययोजनामा पनि बैंकको सेयर लगानी सम्बन्धी व्यवस्था समेटिएको थियो। सोही अनुसार राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो।
२१ बुँदे कार्ययोजना अनुसार सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बढाएको पुँजीगत लाभकरसमेत दुई महिनामै फिर्ता लिएको थियो। यी कदमले सरकारले सेयर बजारमा सकारात्मक वातावरण बनाउन खोजिरहेको संकेत गरे पनि त्यस अनुसार लगानीकर्ताको आकर्षण बढ्न सकेको छैन।
पछिल्ला नौ कारोबार दिनयता दैनिक कारोबार रकम चार अर्ब रूपैयाँभन्दा तल झरेको छैन। यस अवधिमा चार अर्बदेखि आठ अर्ब रूपैयाँसम्मको सेयर कारोबार भएको छ।
कारोबार बढिरहे पनि बजारमा बलियो खरिददारी नआउनुमा पछिल्लो समय बढेको सेयर आपूर्तिले पनि भूमिका खेलेको छ।
कतिपय कम्पनीको लकिङ अवधि खुलेसँगै बजारमा थप सेयर आपूर्ति भएको छ। बढेको आपूर्तिले पनि केही कम्पनीको मूल्यमा दबाब परेको छ। यही कारण बजारमा कारोबार रकम उच्च रहे पनि नेप्से बलियो रूपमा अगाडि बढ्न सकिरहेको छैन।