ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ।
करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा बन्ने भवनको शुक्रबार भूमिपूजा गरिएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा भूमिपूजा गरेका हुन्।
भवनमा दुई तला भूमिगत पार्किङ रहनेछ। एउटा ग्राउन्ड फ्लोर र माथि नौ तला हुनेछन्। यसरी भवन कुल १२ तलाको हुनेछ।
बैंकले उक्त भवनलाई आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार र अत्याधुनिक प्रविधिसहित निर्माण गर्न लागेको जनाएको छ।
भवनलाई काठमाडौं उपत्यकाकै नमुना व्यावसायिक संरचनाका रूपमा विकास गर्ने बैंकको योजना छ।
भूमिपूजापछि अध्यक्ष ढकालले यो भवन वाणिज्य बैंकका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचना हुने बताए।
भवन काठमाडौं उपत्यकाकै एउटा नमुना बन्ने उनको दाबी छ।
नयाँ भवन निर्माणपछि सेवाग्राहीले बैंकिङ सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी रूपमा पाउने उनले बताए।
प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही र कर्मचारीको सुविधालाई ध्यानमा राखेर भवनको डिजाइन गरिएको बताए।
पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
भवनमा ऊर्जा खपत घटाउने प्रविधि प्रयोग गरिने बैंकले जनाएको छ।
पानीको व्यवस्थापनका लागि आकाशे पानी संकलन र प्रशोधन प्रणाली जडान गरिनेछ। विद्युत खपत घटाउन सौर्य ऊर्जा पनि प्रयोग गरिने बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापनका अधिकारी तथा कर्मचारी सहभागी थिए।
ग्लोबल आइएमई बैंकले सन् २०१४ मा 'बैंक अफ द इयर' र सन् २०१६ मा 'बेस्ट इन्टरनेट बैंक' को उपाधि पाएको थियो।
बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार 'बेस्ट बैंक नेपाल' को उपाधि प्राप्त गरेको जनाएको छ।
त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५ तथा बेस्ट बैंक इएसजी नेपाल २०२४ लगायतका पुरस्कार प्राप्त गरेको छ।
हाल बैंकका ३४१ शाखा, ३६६ एटिएम र १३६ शाखारहित बैंकिङ केन्द्र छन्।
यसबाहेक ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय छन्।
बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको पनि बैंकले जनाएको छ।