बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै जाँदा नयाँ प्रकृतिका साइबर जोखिम नियन्त्रण गर्न सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल (सिएसआरआई नेपाल) ले 'ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६' घोषणा गरेको छ।
नेपालको पहिलो कृत्रिम बुद्धिमत्ता तथा साइबर सुरक्षा अनुसन्धान संस्थाका रूपमा परिचित सिएसआरआई नेपालले बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रलाई लक्षित गरी यो अनुसन्धान अनुदान ल्याएको हो।
संस्थाले काठमाडौंमा आयोजित एक कार्यक्रममा अनुदानका उद्देश्य र अनुसन्धानका प्राथमिकता सार्वजनिक गरेको हो।
यस कार्यक्रमले वित्तीय क्षेत्रमा एआईको सुरक्षित प्रयोग बढाउने, साइबर जोखिम घटाउने र नेपालमै अनुसन्धानको वातावरण बनाउने लक्ष्य राखेको छ।
सिएसआरआई नेपालका अध्यक्ष डा. शालिग्राम पराजुलीले अनुसन्धानका चार क्षेत्रलाई प्राथमिकता दिइएको बताए।
उनका अनुसार डिजिटल ठगी नियन्त्रण, ग्राहकको डिजिटल परिचय चोरी रोकथाम र स्वचालित वित्तीय कारोबारलाई सुरक्षित बनाउने विषयमा अनुसन्धान हुनेछ।
त्यस्तै, ग्राहकका व्यक्तिगत तथा वित्तीय विवरणको गोपनीयता कायम राख्ने प्रविधिको विकासमा पनि जोड दिइनेछ।
यसका लागि 'फेडरेटेड लर्निङ' जस्ता प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ।
अनुसन्धानमार्फत नेपाली युवा डेटा वैज्ञानिक, अनुसन्धानकर्ता र साइबर सुरक्षाविद्लाई व्यावहारिक अवसर उपलब्ध गराउने संस्थाको लक्ष्य छ।
साथै, नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायलाई अनुसन्धानमा आधारित सुझाव उपलब्ध गराइनेछ।
अनुसन्धानका लागि चारवटा क्षेत्र निर्धारण गरिएको छ।
पहिलो, एआईबाट हुन सक्ने साइबर आक्रमणको पहिचान र निगरानी गर्ने प्रणाली विकास गरिनेछ।
दोस्रो, वित्तीय तथ्यांक सुरक्षित राख्ने र गोपनीयता कायम गर्ने व्यवस्था तयार पारिनेछ।
तेस्रो, शंकास्पद वित्तीय कारोबारको पूर्वानुमान गरी ठगी तथा सम्भावित नोक्सानी रोक्ने प्रविधिमा अनुसन्धान गरिनेछ।
चौथो, कर्जा मूल्यांकन र बैंकिङ सेवामा प्रयोग हुने एआई प्रणालीलाई पारदर्शी, निष्पक्ष र जवाफदेही बनाउने विषयमा अध्ययन गरिनेछ।
यस अनुसन्धान कार्यक्रमको अवधारणात्मक ढाँचा सिएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी, सिएआरई नेपालका वरिष्ठ उपाध्यक्ष प्रा.डा. गजेन्द्र शर्मा, सचिवद्वय सरला कार्की र बन्दना शर्मा, कार्यसमिति सदस्य शान्तिकला सुवेदी तथा सदस्य संगम न्यौपानेले संयुक्त रूपमा तयार पारेका हुन्।
संस्थाका निवर्तमान अध्यक्ष प्रा.डा. सुवर्ण शाक्यले एआईबाट हुने वित्तीय तथा डिजिटल ठगी नियन्त्रण गर्न यो पहल महत्त्वपूर्ण हुने बताए।
उद्योग क्षेत्रका जटिल समस्या समाधान गर्न गहन अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
यो कार्यक्रमले बैंक तथा वित्तीय संस्थालाई आधुनिक सुरक्षा प्रणाली विकास गर्न सहयोग पुग्ने संस्थाको विश्वास छ।
यसबाट ग्राहकका वित्तीय विवरण सुरक्षित राख्न, सञ्चालन खर्च घटाउन र साइबर सुरक्षासम्बन्धी नियामकीय व्यवस्था पालना गर्न सहज हुने अपेक्षा गरिएको छ।
अनुसन्धानमा विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, डेटा वैज्ञानिक र साइबर सुरक्षा विज्ञलाई समेत सहभागी गराइनेछ।
विदेशी विज्ञसँगको सहकार्यबाट ज्ञान र प्रविधि हस्तान्तरण गर्ने लक्ष्य पनि राखिएको छ।
अनुदानमा सहभागी हुन इच्छुक अनुसन्धानकर्ता, विज्ञ तथा विद्यार्थीले सिएसआरआई नेपालको आधिकारिक वेबसाइटमा आवेदन दिन सक्नेछन्।