नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल सञ्चालक सिटी होटल लिमिटेड चालु आर्थिक वर्षको सुरूबाटै वित्तीय अवस्था सुधारतर्फ अग्रसर देखिएको छ।
शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा खुद नोक्सानी २८ प्रतिशतले घटाएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी ४ करोड ३ लाख रूपैयाँ रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नोक्सानी ५ करोड ५७ लाख रूपैयाँ थियो।
यसअनुसार कम्पनीले एक वर्षको अवधिमा नोक्सानी १ करोड ५४ लाख रूपैयाँ अर्थात् करिब २८ प्रतिशतले घटाएको हो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२ करोड ९७ लाख रूपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको कुल आम्दानी ११ करोड ५५ लाख रूपैयाँ थियो।
यसअनुसार कुल आम्दानीमा करिब ४.७ प्रतिशत वृद्धि भएको छ।
गत वर्षको पहिलो त्रैमासिकमा २ करोड ४३ लाख रूपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३ करोड ७२ लाख रूपैयाँ पुगेको छ।
यसमा करिब ५३ प्रतिशतको वृद्धि भएको छ।
वित्तीय दायित्व व्यवस्थापनमा पनि कम्पनीले प्रगति गरेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ अर्ब २० करोड रूपैयाँ रहेको दीर्घकालीन कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा घटेर २ अर्ब ४८ करोड रूपैयाँमा झरेको छ।
त्यस्तै, अल्पकालीन कर्जा पनि १४ करोड १७ लाख रूपैयाँबाट घटेर ३ करोड ५७ लाख रूपैयाँमा सीमित भएको छ।
नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटलका रूपमा सञ्चालनमा रहेको सिटी होटलले सेवा सुविधाको गुणस्तर अभिवृद्धि र बजार विस्तारलाई प्राथमिकता दिँदै आएको छ।
आर्थिक वर्षको सुरुवातदेखि नै आएको बाढी तथा प्रतिकूल मौसमका कारण काठमाडौंको समग्र होटल व्यवसाय प्रभावित भएपनि समग्रमा राम्रो भएको व्यवस्थापकले जनाएको छ।
धार्मिक तथा तीर्थयात्रामा आधारित पर्यटनमा तुलनात्मक रूपमा बढी निर्भर रहेको होटलले समेत त्यसको प्रभाव व्यहोर्नुपरेको थियो।
कम्पनीले यस्तो चुनौतीका बाबजुद स्थानीय बजारमा पहुँच विस्तार, ट्राभल एक्स्पो, वर्कसप तथा ग्लोबल टुरिस्ट इभेन्टमा सहभागिता, विभिन्न दूतावास तथा सरोकारवालासँग दीर्घकालीन व्यावसायिक सम्बन्ध विकासमार्फत पर्यटक आकर्षित गर्ने रणनीति अघि सारेको जनाएको छ ।