कोरोना महामारीका कारण विश्वभरका विमानस्थलहरुले ९७ अर्ब अमेरिकी डलर गुमाउने अनुमान गरिएको छ। विमानस्थल सम्बन्धी हालै भएको अध्ययनले कोरोना महामाकारीका कारण ठप्प भएको हवाई उडानले आम्दानी गुम्ने अनुमान गरेको हो।
विश्वकै मुख्य विमानस्थलहरुको व्यापारिक समूह एयरपोर्ट काउन्सिल इन्टरनेशनल वर्ल्डले गरेको एक अध्ययनअनुसार सन् २०२० मा ४ अर्ब बढी यात्रु घट्ने छन्।
विश्वका व्यस्त विमानस्थलहरुको ठूलो मात्रामा व्यापार गुमाउने अध्ययनको निष्कर्ष छ। बेइजिङ विमानस्थलमा मात्र सन् २०२० मा ६२ प्रतिशत यात्रु घट्ने अनुमान गरिएको छ।
यात्रुसँगै कार्गो उडान पनि व्यापक घट्ने अनुमान गरिएको छ। संसारका २० ठूला विमानस्थलमा मात्र ४ प्रतिशतले कार्गो उडान घट्ने छ। गएको वर्ष ठूला २० विमानस्थलले मात्र ४ करोड ८० लाख टन कार्गो ओसारपसार गरेका थिए। यसमध्ये हङकङ विमानस्थललले सबैभन्दा धेरै ४८ लाख टन ओसारपसार गरेको थियो।