चीनसँग स्थलमार्गबाट आयात निर्यात गर्ने मुख्य दुई नाका अवरूद्ध भएपछि सञ्चालनमा ल्याइएको मुस्ताङ नाकाबाट एक महिनामा करिब साढे ५ अर्ब रूपैयाँको आयात निर्यात भएको छ।
भन्सार विभागका अनुसार भदौ अन्तिमबाट सञ्चालमा आएको यो नाकाबाट असोज मसान्तसम्मको अवधिमा ५ अर्ब २७ करोड ९० लाख रूपैयाँ बराबरको वस्तु आयात भएको छ। ९१ लाख रूपैयाँ बराबरको बस्तु निर्यात भएको छ।
चालु आर्थिक वर्षमा तातोपानी र रसुवा नाकाबाट एक रूपैयाँको पनि निर्यात नभएकोमा स्थलमार्गबाट चीन सामान पठाउने नाका मुस्ताङ मात्रै देखिएको छ।
गत असारको बाढीको कारण रसुवा नाका र साउन दोस्रो सातादेखि तातोपानी नाका अवरूद्ध भएपछि केही समय स्थलमार्गबाट उत्तरी छिमेकी चीनसँगको ब्यापार नै रोकियो।
तर, यी दुबै नाका सञ्चालनमा आउन नसकेपछि एक महिनाअघि मुस्ताङ नाकाबाट आयात–निर्यात सुरू गरिएको थियो। भदौ ३० गते मुस्ताङ नाकाबाट चीनसँग आयात–निर्यात सुरू गर्दा तातोपानी र रसुवा दुवै नाका अवरुद्ध थिए।
अहिले तातोपानी सञ्चालनमा आएको छ। रसुवा पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
एक महिनाको अवधिमा यो नाकाबाट कति भयो चीनसँग व्यापार, के यो नाका चीनसँगको स्थलगत व्यापारका लागि वैकल्पिक बन्न सक्छ त? के छन् समस्या? अहिले कसरी काम भएको छ?
भदौ ३० गते औपचारिक रूपमा कोरला नाका सञ्चालनमा ल्याउँदाको दिन दुई गाडी सामान नेपाल ल्याइएको थियो भने दुई गाडी चीन पठाइएको थियो। सुरुको दिनमै २२ वटा विद्युतीय गाडी जाँचपासको प्रक्रियामा थिए, जसले नाका सञ्चालनप्रति ब्यापारीको रुची र उत्साह देखाएको थियो।
भदौ ३० पछि एक महिनाको अवधिमा कोरला नाकाबाट चीनसँगको ब्यापार विस्तारै गतिमा आउँदै गएको छ। एक महिनामा यो नाकाबाट करिब १३ सय वटा विद्युतीय जीप, कार र भ्यान नेपाल भित्रिएका छन्। केही गाडीका पार्टपुर्जा, मेसिनरी र अन्य सामान पनि रहेका छन्। अन्य सामग्री आयात हुँदा साढे दुई अर्ब राजस्व मात्रै उठेको छ।
भन्सार अधिकृत डिल्ली सुवेदीका अनुसार, ‘नाकामा भन्सार प्रक्रिया नियमित रूपमा अघि बढ्दै छ, तर पूर्वाधारका कारण सहजता छैन।’
औसत रूपमा अहिले दैनिक ४० देखि ५० गाडीसम्मको आवागमन भइरहेको छ। कोरला नाका हुँदै चिनियाँ सामान नेपाल आयात गरेका ब्यापारी दिलिप शेर्पा नाकाको सुरुआतले ठूलो आशा पलाएको बताउँछन्।
‘चीनतर्फका ठूला कम्पनीहरूले पनि कोरलाबाट सामान पठाउने तयारी गरिरहेका छन्। तर सडक अवस्था, मौसम र ढुवानी खर्च अझै ठूलो चुनौती बनेको छ,’ उनले भने।
मुस्ताङको भौगोलिक कठिनाइका कारण साना गाडीले मात्र यात्रा गर्न सक्ने अवस्था छ।
कोरलाबाट सुरू भएको यो ब्यापारले मुस्ताङमा केही चहलपहल बढाएको छ। एक महिनाको अवधिमा चीनबाट कोरला नाकाबाट करिब १३ सय वटा विद्युतीय गाडीका साथै करिब साढे चार सय सामान आयात भएको छ। सात गाडी सामान भने चीनतर्फ गएको छ।
स्थायी पूर्वाधार नभएको अवस्थामा यो नाकामा अहिले सीमित भन्सार प्रतिनिधि मात्रै काम गरेका छन्। दुई जना भन्सार अधिकृत र कार्यालय सहयोगीसहित जम्मा छ जना प्रतिनिधि यो भन्सारमा खटिएका छन्।
‘बस्न–खानका लागि स्थायी संरचना नबनेको अवस्थामा हामी नजिकै रहेको एउटा होटलमा बसेका छौं। बिहान ७ बजेदेखि बेलुका ७/८ बजेसम्म नै भन्सारको काममा व्यस्त भइन्छ,’ सुवेदीले भने।
ब्यापारी दिलिप शेर्पाले कोरला नाकाबाट सामान आयात–निर्यात गर्ने अवस्था ठिकठिकै रहेको बताए। मुख्यगरी लत्ताकपडा र काँचो कपडाहरू आयात गर्छन्।
रसुवा र तातोपानी नाकाहरू हरेक वर्ष विपत्ति (बाढी–पहिरो)मा पर्ने गरेकाले यदी कोरला नाका राम्रोसँग स्थापित भए ब्यापारमा सहजीकरण हुने उनको भनाइ छ।
अहिले नेपाली ब्यापारीहरूलाई सामान हाल्ने (लोड गर्ने) बेलामा उता (चीनतर्फ) जान अन्य मानिसलाई दिइँदैन। यसले गर्दा उनीहरूले लोड गर्न ढिलो गर्दिने र सामान छिटो आइपुग्न नसक्ने समस्या छ।
गाडी चलाएर लैजाने ड्राइभरलाई मात्र जान दिइन्छ। गाडीमा अरू सहयोगी पठाउन पाइँदैन। यसका साथै चीनतर्फको ३० किलोमिटरको स्थानीय क्षेत्रका मान्छेहरू मात्र गाडी चलाउन पाउँछन्।
जाडो महिनामा (दुई–तीन महिनासम्म) चिसो धेरै भएर गाडीको तेल जम्ने समस्या रहने उनले बताए। अहिले पनि गाडी स्टार्ट गर्न समस्या हुने भएको छ।
भन्सारबाट काठमाडौंसम्म सामान पठाउन पनि समस्या भएको शेर्पाको भनाइ छ। कोरलाबाट काठमाडौं सामान पठाउन नै दुई–तीन दिनसम्मको समय लागेको उनले बताए।
तर नेपालतर्फबाट बाटो सहज बनाएमा भने कोरला नाका वैकल्पिक मार्ग हुने उनको भनाइ छ। दसैंको समयमा रसुवा नाका पूर्ण र तातोपानी नाका आंशिक सञ्चालन भएको कारण पनि यो बीचमा धेरै सामान कोरला नाकाबाट आयात–निर्यात भएको भन्सार अधिकारीहरूले बताएका छन्।