नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न भएको निर्वाचनबाट राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
राउतले कुल मतको ६७.३७ प्रतिशत मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
घोषित मतपरिणाम अनुसार जिल्ला नगर संघतर्फको ३८ मध्ये राउतले २४ मत (मतभार १८५०) पाएका छन्। एसोसिएटतर्फ खसेको १४७ मध्ये १०७ मत (मतभार ३२१०) र वस्तुगततर्फको १९ मध्ये ११ मत (मतभार ३८०) गरी कुल ४६३० मतभार प्राप्त गर्दै राउत निर्वाचित भएको निर्वाचन अधिकृत विकास थापाले बताए।
उनका प्रतिस्पर्धी नविन रिजालले जिल्ला नगर संघबाट १३ मत (मतभार ६५०), वस्तुगतबाट ६ (मतभार १२०) र एसोसिएटबाट ३९ (मतभार ११७०) गरी कुल १९४० मतभार प्राप्त गरे।
निर्वाचनमा जिल्ला नगरतर्फ ३८ (१८५० मतभार), वस्तुगततर्फ १९ (३८० मतभार) र एसोसिएटतर्फ १४८ (४४१० मतभार) गरी २०५ मतदाता रहेका थिए। जसमध्ये जिल्ला नगर र वस्तुगततर्फ सबै मत खसेको थियो भने एसोसिएटतर्फ एक मत कम खसेको थियो।
१४ सदस्यीय प्रदेश कार्यसमितिमा एक अध्यक्ष, ५ खुला सदस्य र २ वस्तुगत सदस्य पद गरी कुल ८ पदमा निर्वाचन भएको थियो।
तीन उपाध्यक्षमा ऋषिराज तिम्सिना (जिल्ला नगर), राजन श्रेष्ठ (वस्तुगत) र रविनकुमार दाहाल (एसोसिएट) सर्वसम्मत निर्वाचित भएका थिए।