नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पछिल्लो लागत मूल्य सार्वजनिक गर्दै निगम अझै घाटामा रहेको जानकारी दिएको छ।
इन्डियन आयल कर्पोरेसनबाट मार्च ३१, मा प्राप्त नयाँ दररेट अनुसार पेट्रोलियम पदार्थको लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले निगमको घाटा चुलिएको हो।
निगमले सार्वजनिक गरेको पछिल्लो मूल्यसूची अनुसार निगमलाई १५ दिनमै ७ अर्ब ८१ करोड ६१ लाख रूपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
निगमले भारतबाट आयात गरेर यहाँ खानापकाउने एलपी ग्यास, पेट्रोल, डिजेल, हवाई इन्धनर र मट्टीतेल बिक्री वितर गदैं आएको छ।
अहिले निगमले सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ३३१ रूपैयाँ २५ पैसा घाटा ब्यहोरेको छ।
निगमलाई प्रतिसिलिण्डर ग्यासको लागत २ हजार ३४१ रूपैयाँ २५ पैसा पर्ने भए तापनि उपभोक्तालाई दुई हजार १० रूपैयाँमा बिक्री गर्दै आएको छ।
त्यस्तै, डिजेलमा प्रति लिटर ८७.९९ रूपैयाँ घाटा रहेको निगमले बताएको छ।
डिजेलको लागत प्रति लिटर २९४ रूपैयाँ ९९ पैसा भए पनि खुद्रा बिक्री मूल्य २०७ रूपैयाँ मात्र तोकिएको छ।
मट्टीतेलमा प्रतिलिटर ३६ रूपैयाँ ७० पैसा र पेट्रोलमा प्रति लिटर २ रूपैयाँ ३२ रूपैयाँ घाटा छ।
पेट्रोलको लागत २२१ रूपैयाँ ३२ पैसा र मट्टीतेलको लागत २४३ रूपैयाँ ७० रूपैसा रहेको निगमले बताएको छ।
निगमका अनुसार आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ०.९२ रूपैयाँ घाटा छ भने बाह्यतर्फ प्रति लिटर ६ रूपैयाँ ५२ रूपैयाँ नाफा रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने क्रममा रहेकाले सोही अनुसार आगामी दिनमा मूल्य समायोजन गरिने निगमले जनाएको छ।