ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ ।
बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो । प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई ‘डिजे म्याग’ ले उत्कृष्ट क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ।
यस वर्षको प्रतिस्पर्धामा विश्वभरका पाँच सयभन्दा बढी क्लब सहभागी थिए। एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धि नेपालको लागि गौरवको विषय भएको बताए।
‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ’, उनले भने।
कुँवर उत्कृष्ट सय क्लबको सूचीमा ४० औं स्थानमा पुग्नु रात्रीकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि रहेको बताउँछन्। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्ने उनले बताए।
‘यो सफलताले एलओडीलाई थप जिम्मेवार बनाएको छ। आगामी दिनमा हामी क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यमा छौं’, उनले भने।
एलओडी क्लब सन् २०२५ मा विश्वका उत्कृष्ट क्लबहरूमध्ये ४४ औं स्थानमा रहेको थियो । सन् २०२२ मा ५२ औं, २०२३ मा ४९ औं र २०२४ मा ५० औं स्थानमा परेको थियो।