सरकारले भू उपयोग नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेको सञ्चारमन्त्री जगदिश खरेलले बताए।
केही समयलाई कित्ताकाट खोल्ने उदेश्यले नै भूउपयोग नियमावली, २०७९ मा तेस्रो संशोधन गरिएको हो।
भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी युवराज अर्यालले मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने बताए।
संसोधित नियमावलीले २०८२ असारसम्मलाई कित्ताकाट खोल्ने निर्णय गरेको छ।
यसअघि नियमावलीले जमिनलाई कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा बन लगायतको आधारमा वर्गीकरण गरेर मात्रै सोही अनुसार कित्ताकाट गर्न पाइने व्यवस्था गरेको थियो।
तर, नियमावली आएको तीन वर्ष बितिसक्दा पनि सात सय ५३ मध्ये आधाभन्दा धेरैले यसरी जग्गाको वर्गीकरण गर्न नसकेपछि केही समयको लागि कित्ताकाट खोलाइएको हो।
जग्गाको कित्ताकाट नखोलिदा कारोबार नै सुस्त भएको थियो।
जग्गामा धेरै सर्वसाधारणदेखि सहकारी, बैंकको ऋणको समत प्रयोग भएकोले कारोबार सुस्त हुँदा अर्थतन्त्र पनि शिथिल हुन पुगेको छ। सरकारको यो निर्णयले अर्थतन्त्र चलायमान हुनसक्ने अपेक्षा गरिएको छ।