काठमाडौंको भृकुटीमण्डपमा गत बिहीबारदेखि 'नेपाल बिल्डकन' अन्तर्राष्ट्रिय प्रदर्शनी भइरहेको छ। यो प्रदर्शनी आज(आइतबार)सम्म चल्नेछ।
नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित 'नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी'मा निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गरिएको आयोजक संस्था मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए।
'निर्माण क्षेत्रका प्रविधि हेर्न विदेशमा महँगो खर्च गरेर जान पर्छ। यो एक्स्पोले त्यो बाध्यता हटाएको छ,' उनले भने।

उनका अनुसार एक्स्पोले विदेशमा उपलब्ध गुणस्तरीय सामग्री नेपाली बजारमा सहज उपलब्ध गराएको छ। विगतका वर्षहरूको तुलनामा अहिले नेपाली कम्पनीको सहभागिता बढेको उनको भनाइ छ।
'पहिले एक्स्पोमा ४० प्रतिशत नेपाली र ६० प्रतिशत विदेशी कम्पनी हुन्थे,' उनले भने, 'अहिले ६५ प्रतिशत नेपाली कम्पनी छन्।'
यो एक्स्पोले घर बनाउने तथा मर्मत गर्ने सोच भएकालाई ग्राहकलाई निर्णय लिन सघाउने उनको भनाइ छ।
एक्स्पोमा नेपाल, भारत, टर्की, इटाली र चिनियाँ कम्पनीका ३०० भन्दा ब्रान्डको सहभागिता छ।

प्रदर्शनी स्थलमा २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामाग्रीहरू प्रदर्शन गरिएको छ।
एक्स्पोमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, सेनेटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रूफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप तथा प्लम्बिङ सामग्री, कन्स्ट्रक्सन केमिकल, पिभीसी तथा युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिल लगायत निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू समेटिएका छन्।
निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण योजना बनाइरहेका व्यक्तिहरूका लागि प्रदर्शनी अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा सम्पन्न हुँदै आएको नेपाल बिल्डकनले विगत एक दशकभन्दा लामो समयदेखि नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै आएको छ।
यस प्रदर्शनीले स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि र सेवाहरू नेपाली बजारमा भित्राउने काम गर्दै आएको भट्टराईले बताए।
एक्स्पोमा विभिन्न कम्पनीका स्मार्ट शौचालय, डोम हाउस, सिसाबाट बनाइएको मन्दिर लगायतका आकर्षक उत्पादन देख्न सकिन्छ।
निर्माण क्षेत्रमा अब्बल कम्पनी पञ्चकन्याले एसएस ट्यांकी एक्स्पोमा राखेको छ। यो ट्याङकी होरिजेन्टल र भर्टिकल गरी दुई डिजाइनमा छ।
भर्टिकल ट्यांकी ग्राहकले एक सय २५ लिटरदेखि १० हजार लिटर क्षमतासम्ममा पाउने छन्।
त्यस्तै, होरिजेन्टल ट्यांकी एक हजारदेखि पाँच हजार लिटर क्षमतासम्ममा पाउने छन्।
त्यस्तै, कम्पनीले विभिन्न प्रयोजनमा उपयोगी हुने पिपिआर, युपिभिसी, युपिसी लगायतका पाइप पनि एक्स्पोमा राखेको छ।
यो पटक कम्पनीले पिकेजी वाथवेयरका सामग्री एक्स्पोमा राखेको छ।
त्यस्तै, ब्रिज सेफ्टी ग्लास कम्पनीले एक्स्पोमा मुख्य गरी टफेन सिसाबाट बनाइएको ढोका र मन्दिर एक्स्पोमा राखेको छ। टफेन सिसा विशेष कच्चा पदार्थबाट बनाइन्छ।
यो सामान्य सिसाभन्दा बलियो, सुरक्षित र ताप–प्रतिरोधी हुन्छ। जुन फुट्दा पनि कम जोखिम हुने प्रकृतिको हुन्छ।
यो सिसाबाट बाल्कोनी, पार्टेशन, भर्याङ, ऐना, रेलिङ तथा स्काइ वाल्किङमा प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।
यी सिसा ग्राहकले विभिन्न कलरमा पाउँछन्।
त्यस्तै, हुलास स्टिलको आाल्मोनियमको झ्याल, ढोका, पाइप, तथा रंगिन रूफिङ सिट देख्न सकिन्छ।
छोटो समयमै नेपाली बजारमा बिक्री हिस्सा बढाउँदै लगेको लुम्बिनी सेरामिक्सद्वारा उत्पादित लामिनार टायल पनि एक्स्पोमा देख्न सकिन्छ। यो टायल ४ सय ५० भन्दा बढी डिजाइनमा छन्।
यो टायल भित्ता, भुई, विभिन्न प्रकारका फ्याक्ट्री (अस्पताल, सुपरमार्केट, अपार्टमेन्ट) पार्किङ तथा छतमा प्रयोग गर्न सकिन्छ।
एक्स्पोमा बेनकाडो वाथवेयरको स्मार्ट शौचालय ग्राहकको मुख्य आकर्षण बनेको छ।
यो आधुनिक प्रविधि प्रयोग गरेर डिजाइन गरिएको स्वचालित शौचालय हो। यसमा हातले नछोइ फ्लस, पानी स्प्रे (बिडे) सफाइ, सिट हिटिङ, गन्ध नियन्त्रण हुने सुविधा छ।

सञ्चालनजस्ता सुविधासहितको उन्नत शौचालय हो। स्मार्ट सेन्सर र नियन्त्रण प्रणालीका कारण प्रयोगपछि आफैं सञ्चालन हुने यो शौचालय आधुनिक घर, होटल तथा व्यावसायिक भवनका लागि सुरक्षित, स्वास्थ्य–मैत्री र आरामदायी समाधानका रूपमा प्रयोग गरिन्छ।
अहिले कम्पनीले एक्स्पोको अवसरमा केही छुट पनि दिएको छ।
त्यस्तै, क्षमादेवी ग्रुपको आल्मोनियम र युपिभिसीका झ्याल, ढोका एक्स्पोमा देख्न सकिन्छ। यी झ्याल ढोका पानी, आवाज प्रतिरोधात्म रहेको कम्पनीले बताएको छ।
त्यस्तै, यो प्रविधिमा आगोको जोखिम कम हुने कम्पनीको भनाइ छ।
एक्स्पोमा सहभागी कम्पनीहरूले तत्काल बिक्रीभन्दा पनि उत्पादन र प्रविधिको प्रचार–प्रसारमा ध्यान दिइएको बताएका छन्।
उनीहरूका अनुसार एक्स्पोले ग्राहक, व्यवसायी र सरोकारवालासँग प्रत्यक्ष भेटेर सामानको गुणस्तर, प्रयोग, फाइदा र नयाँ प्रविधिबारे बुझाउँदा दीर्घकालिन फाइदा पुग्नेछ।

नयाँ प्रविधि भएकाले अहिले बिक्री नभएपनि ब्रान्ड चिनाउने, विश्वास निर्माण गर्ने र भविष्यका लागि बजार तयार पार्ने काम गरिरहेको कम्पनीहरूको भनाइ छ।