चालु आर्थिक वर्ष २०८२/८३ को माघमा घरजग्गा कारोबार स्थिर छ।
यो महिना देशभर ५० हजार ८ सय ३७ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।
यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा एक हजारले न्यून हो। पुसमा देशभर ५१ हजार ८ सय संख्यामा घरजग्गा कारोबार भएको थियो।
त्यस्तै, मंसिरमा भने वर्षकै उच्च घरजग्गा कारोबार भएको थियो। मंसिरमा देशभर ५१ हजार ६ सय संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ।
माघमा कारोबारसँगै राजस्वमा पनि कमी आएको छ।
पुसमा सरकारलाई पाँच अर्ब १७ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। माघमा भने राजस्व पाँच अर्बमा सीमित छ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ।
त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
फागुनमा प्रतिनिधिसभा निर्वाचन हुन गइरहेकाले धेरैको ध्यान निर्वाचनले तानेको छ। चुनावपछि भने घरजग्गा कारोबार बढ्ने व्यवसायीको अनुमान छ।