सरकारले नीति तथा कार्यक्रममार्फत सीमा नाकाहरूमा अनुहार पहिचान गर्न सकिने प्रणालीको प्रयोग गर्ने बताएको छ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
‘सशस्त्र प्रहरी बल, नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधारसहित विशिष्टीकृत सुरक्षा बलका रूपमा सुदृढ गरिनेछ। सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ,’ उनले भने।
त्यस्तै ड्रोन तथा नाइट भिजन क्यामराको प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गर्ने पनि उनले बताएका छन्।
‘ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ। सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइनेछ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिनेछ,’ उनले भने।
त्यसैगरी प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गर्ने सरकारको योजना छ।
‘राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाइनेछ। लागु औषध नियन्त्रण, अन्तर देशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिनेछ। साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।