अर्थमन्त्री स्वर्णिम वाग्लेले गरिबी न्यूनीकरणका लागि केवल नगद वितरणभन्दा नागरिकको आम्दानी बढाउने नीतिमा सरकार केन्द्रित रहेको बताएका छन्।
प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सरकारले विद्यमान सामाजिक सुरक्षा कार्यक्रमहरू नकटाएको बरु थप विस्तार गरेको बताए।
उनका अनुसार दलित बालबालिकाका लागि पौष्टिक आहार तथा बीमासम्बन्धी कार्यक्रम समेत थप गरिएको छ।
वाग्लेले नगद बाँड्दैमा मात्र गरिबी नघट्ने उल्लेख गर्दै सरकारले नागरिकलाई सधैं सहायता लिने अवस्थामा राख्नेभन्दा आम्दानी आर्जन गर्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य लिएको बताए।
त्यसका लागि कृषि आधुनिकीकरण, बीमा, डिजिटल अर्थतन्त्र र स्टार्टअप प्रवर्द्धनलगायतका कार्यक्रम अघि सारिएको उनको भनाइ छ।
उनले आर्थिक वृद्धिको स्वरूप सधैं श्रममैत्री नहुन सक्ने भए पनि सरकारले समावेशी अर्थतन्त्र निर्माणमा जोड दिएको बताए।
यसै सन्दर्भमा उनले चीनको उदाहरण दिँदै समावेशी आर्थिक वृद्धिकै आधारमा २०–२५ वर्षको अवधिमा ८० करोडभन्दा बढी मानिस गरिबीबाट माथि उठ्न सफल भएको उल्लेख गरे।
'पैसा मात्र बाँड्न थाल्यौं भने हामी जिम्बावे र भेनेजुएला जस्ता अवस्थातर्फ जान सक्छौं,' उनले भने।
अर्थमन्त्री वाग्लेले नेपालमा पछिल्लो दुई दशकमा गरिबी घट्नुमा सामाजिक हस्तान्तरणभन्दा वैदेशिक रोजगारीबाट आएको विप्रेषण (रेमिटेन्स) को योगदान ठूलो रहेको बताए।
परिवारको आय बढ्दा शिक्षा, स्वास्थ्य, पोषण तथा समग्र जीवनस्तर स्वतः सुधार हुने तथ्यले पनि आम्दानी वृद्धिमै जोड दिनुपर्ने देखाएको उनको भनाइ थियो।