अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटको हरेक अनुच्छेदमा नयाँ सोच र सुधारका प्रयास समेटिएको बताएका छन्।
प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले श्रम तथा रोजगार क्षेत्रलाई बजेटको प्रमुख सुधारमध्ये एकका रूपमा प्रस्तुत गर्दै श्रम मन्त्रालयलाई वैदेशिक रोजगारी व्यवस्थापन गर्ने मन्त्रालयमा मात्र सीमित नराख्ने नीति लिइएको बताए।
उनले लाखौं श्रमिकलाई औपचारिक श्रम बजारमा आबद्ध गराउने, उनीहरूको सामाजिक सुरक्षा, बीमा, न्यूनतम ज्याला तथा कानुनी अधिकार सुनिश्चित गर्ने लक्ष्यसहितका कार्यक्रम बजेटमा समावेश गरिएको उल्लेख गरे।
'लाखौं श्रमिकलाई औपचारिक श्रम बजारमा ल्याउने, उनीहरूको सुरक्षा, बीमा, न्यूनतम ज्याला र कानुनी अधिकार सुनिश्चित गर्ने प्रयासलाई कसरी गरिबविरोधी बजेट भन्न मिल्छ?' भन्दै उनले बजेटको बचाउ गरे।
अर्थमन्त्री वाग्लेले श्रमिकलाई औपचारिक अर्थतन्त्रमा समेट्ने र सुधार गर्ने कार्यक्रम बजेटको सबैभन्दा महत्वपूर्ण सुधारमध्ये एक भए पनि त्यसलाई पर्याप्त चर्चा नगरिएको र ओझेलमा पार्ने प्रयास भएको टिप्पणी गरे।
उनले सरकारले प्रस्तुत गरेको बजेटमा परम्परागत कार्यक्रमलाई निरन्तरता दिनुका साथै विभिन्न क्षेत्रमा नीतिगत तथा संरचनागत सुधारका नयाँ पहलहरू समेटिएको दाबी गर्दै 'हामीले बजेटका हरेक अनुच्छेदमा नयाँ कुरा प्रयास गरेका छौं,' भने।