सरकारले नेपाल स्टक एक्सचेञ्च (नेप्से) का प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
सुवेदीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव छ। उनी यसअघि कृषि विकास बैंकको नायब महाप्रबन्धक थिए। उनले उक्त बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालेका थिए।
कृषि विकास बैंकमा रहँदा उनले प्रमुख कर्जा अधिकृत, प्रमुख सञ्चालन अधिकृत, मानव संशाधन तथा सेवा विभाग प्रमुख र कम्पनी सचिवको जिम्मेवारी सम्हालेका थिए।
उनले बैंकको कम्पनी सचिवालयमा रहँदा धितोपत्र बोर्ड, नेप्से र नेपाल राष्ट्र बैंक लगायत नियामक निकायसँग समन्वय गर्ने काम समेत गरेका थिए।
सुवेदीले नेको इन्स्योरेन्स, साना किसान विकास लघुवित्त र डिप्रोक्स लघुवित्तको सञ्चालक समितिमा पनि काम गरेका छन्। उनी फन्ड म्यानेजमेन्ट कम्पनीको सञ्चालक समिति अध्यक्ष समेत भइसकेका छन्।
पर्वतको कुश्माका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबिए) गरेका छन्। कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल राष्ट्र बैंक र कर्मचारी सञ्चय कोषमा पनि काम गरेका थिए।