सामान्य जनजीवन चलाउनदेखि व्यवसाय सुरू गर्न, परियोजना सञ्चालन गर्न वा विस्तार गर्न ऋण आवश्यक पर्न सक्छ।
तर ऋण लिँदा के–के कुरामा ध्यान दिनुपर्छ? आफ्नो आम्दानीअनुसार कति ऋण लिने? कुन आधारमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा छनोट गर्ने?
ऋण लिएपछि भुक्तानीमा समस्या आए के गर्ने? नेपाल राष्ट्र बैंकले ऋण लिने व्यक्तिले ध्यान दिनुपर्ने विभिन्न सुझाव दिएको छ। के हुन् त ती सुझाव?
ऋण लिनुअघि त्यसको उद्देश्य र आफ्नो आर्थिक अवस्थाबारे स्पष्ट हुनुपर्ने हुन्छ।
राष्ट्र बैंकका अनुसार पुँजी निर्माण वा उपभोगका लागि ऋण लिँदा त्यसबाट आम्दानी वा सम्पत्ति बढ्ने आधार स्पष्ट हुनुपर्छ। ऋणले भविष्यमा खर्च गर्न सकिने आम्दानी घटाउने भएकाले अनावश्यक ऋण लिनु हुँदैन।
ऋण लिनुअघि आफ्नो आम्दानीको तुलनामा किस्ता र ब्याज तिर्न सक्ने अवस्था छ कि छैन भन्ने हेर्नुपर्छ।
यसका लागि ऋण र आम्दानीको अनुपात समीक्षा गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।
पहिले लिएको ऋण तिर्न वा घाटा भएको रकम पूर्ति गर्न नयाँ ऋण लिँदा थप ऋणको जोखिम बढ्न सक्छ। त्यसैले ऋण लिनुअघि उपलब्ध विकल्पबारे जानकारी लिनुपर्छ।
कर्जा छनोट गर्दा केमा ध्यान दिने?
ऋण लिँदा ब्याजदर मात्रै नभई अन्य शुल्क, प्रक्रिया, अवधि र सर्तसमेत तुलना गर्नुपर्छ।
ब्याज र शुल्क जोडेर ऋणको वार्षिक लागत निकाल्न राष्ट्र बैंकले सुझाव दिएको छ।
ऋण दिने संस्थाको सेवा र प्रक्रिया बुझ्नुपर्छ। स्थिर र परिवर्तनीय ब्याजदरको विकल्पबारे पनि जानकारी लिनुपर्छ।
बैंकको आधार दर र प्रिमियम परिवर्तन हुँदा ब्याजदर पनि परिवर्तन हुन सक्ने भएकाले यसबारे स्पष्ट हुनुपर्छ।
ऋणको अवधि, किस्ता भुक्तानी र अन्य सर्तबारे जानकारी लिनुपर्छ। सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि सबै व्यवस्था राम्ररी पढ्नुपर्छ।
समयमा किस्ता नतिर्दा विलम्ब शुल्क र चक्रवर्ती ब्याज लाग्न सक्ने भएकाले यसमा ध्यान दिनुपर्छ।
धितो र जमानीको कानुनी असर बुझ्नुपर्ने
ऋण लिँदा धितो राख्नुपर्ने वा जमानी बस्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा त्यसका सर्त र कानुनी असरबारे पहिले नै बुझ्नुपर्छ।
ऋण जुन उद्देश्यका लागि लिइएको हो, त्यही काममा मात्र प्रयोग गर्नुपर्छ। ऋण लिएपछि थप खर्चसमेत बढ्न सक्ने भएकाले त्यसको हिसाब गर्नुपर्छ।
भविष्यमा आम्दानी घट्न सक्ने जोखिमलाई पनि ध्यान दिनुपर्छ। ऋणसँग सम्बन्धित बीमाको व्यवस्था र आवश्यकताबारे जानकारी लिनुपर्छ।
समयमै ऋण तिर्न राष्ट्र बैंकको सुझाव
ऋणको ब्याज र किस्ता समयमै भुक्तानी गर्नुपर्छ। कुनै कारणले ऋण तिर्न कठिन भएमा बैंकसँग सम्पर्क गरी ऋणका सर्त पुनः परिमार्जन गर्न सकिन्छ।
ऋण तिर्न नसक्ने अवस्था आएमा उपलब्ध विकल्पबारे जानकारी लिनुपर्छ।
समयमै भुक्तानी नगर्दा ऋणीको कर्जा जोखिम सूचकाङ्क बढ्न सक्छ। त्यसैले ऋण चुक्ता गर्ने समयतालिकाबारे सचेत हुनुपर्छ।
ऋण समयअगावै चुक्ता गर्दा शुल्क लाग्छ कि लाग्दैन भन्ने जानकारी लिनुपर्छ। एउटा संस्थाबाट अर्को संस्थामा ऋण सार्दा लाग्ने शुल्क र प्रक्रियाबारे पनि बुझ्नुपर्छ।
समस्या परेमा गुनासो गर्न सकिने
ऋण लिने व्यक्तिले आफूले लिएको सेवाका सबै पक्षबारे निरन्तर जानकारी राख्नुपर्छ। नबुझेका सर्तबारे सम्बन्धित संस्थासँग सल्लाह लिनुपर्छ।
सेवामा सुधार गर्नुपर्ने विषय भए सुझाव दिनुपर्छ।
बैंक तथा वित्तीय संस्थाको सेवाप्रति असन्तुष्टि भएमा गुनासो गर्न सकिन्छ। गुनासो गर्ने प्रक्रिया र जिम्मेवार व्यक्तिबारे जानकारी लिनुपर्छ।
सम्बन्धित संस्थाबाट गुनासो समाधान नभए नियामक वा न्यायिक निकायमा उजुरी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
विद्यमान कानुन, सेवा लिँदाका सर्त र असल अभ्यासका आधारमा गुनासो समाधान हुने सूचनामा उल्लेख छ।
अनौपचारिक क्षेत्रबाट लिएको ऋणको गुनासो सुनुवाइ नहुने भएकाले औपचारिक वित्तीय संस्थाबाट मात्र ऋण लिन राष्ट्र बैंकले सुझाव दिएको छ।