गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउन निजी क्षेत्रलाई लिजमा दिने प्रस्ताव गरिएको छ।
सरकारले थप लगानी नगरी उद्योग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने मोडल सिफारिस गरिएको हो।
यससम्बन्धी प्रतिवेदन शुक्रबार सरकारी लगानी व्यवस्थापन समितिमा पेस गरिएको छ।
गोरखकाली रबर उद्योगको भविष्य टुंगो लगाउन अर्थ मन्त्रालयले यसअघि सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गराएको थियो।
त्यसका लागि विज्ञसहितको टोली गठन गरिएको थियो।
टोलीले उद्योग सञ्चालनका तीन विकल्प सुझाएको थियो।
ती विकल्पमा लिजमा दिने, कम्पनी खारेज गर्ने र निजी वा सार्वजनिक संस्थाको सहभागितामा सञ्चालन गर्ने प्रस्ताव थिए।
ती विकल्पमध्ये उपयुक्त मोडल छनोट गर्न अर्को उपसमिति गठन गरिएको थियो।
उक्त उपसमितिले गोरखकाली रबर उद्योगसहित हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टको सञ्चालन मोडल अध्ययन गरेको थियो।
अध्ययनपछि गोरखकाली रबर उद्योगलाई लिजमा दिने विकल्प सिफारिस गरिएको हो।
यस मोडलमा उद्योगको स्वामित्व सरकारसँगै रहनेछ। निजी क्षेत्रलाई निश्चित अवधि र सर्त तोकेर सञ्चालनको जिम्मेवारी दिइनेछ।
यसबाट निजी क्षेत्रको पुँजी, प्रविधि र व्यवस्थापकीय दक्षता उपयोग गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई जिम्मेवारी दिने प्रस्ताव प्रतिवेदनमा गरिएको छ।
सरकारी लगानी व्यवस्थापन समितिको अध्यक्ष अर्थमन्त्री रहने व्यवस्था छ।
समितिमा प्रतिनिधिसभाको अर्थ समितिका सभापति, अर्थ, कानुन र श्रम सचिव तथा राष्ट्रिय योजना आयोगका एक सदस्य रहन्छन्।
निजी क्षेत्रका प्रतिनिधि र सरकारले मनोनीत गरेका दुई सांसद पनि सदस्य रहने व्यवस्था छ।
अब समितिले प्रतिवेदन अध्ययन गर्नेछ।
त्यसपछि गोरखकाली रबर उद्योगलाई अघि बढाउने वा नबढाउनेबारे निर्णय हुने बताइएको छ।