उपभोग बढ्दा सामान्यतया सरकारको भ्याट, अन्तःशुल्क र भन्सार महसुल संकलन बढ्छ। यो वर्ष यी कर बढेका छन्।
तर यी करबाट उठ्ने राजस्व बढ्नुको अर्थ बजारमा वस्तु तथा सेवाको खपत बढ्नु मात्रै हो कि? मूल्यवृद्धि, करको दरमा परिवर्तन र कारोबार औपचारिक दायरामा आउँदाको प्रभाव हो?
चालु वर्षको राजस्व तथ्यांकले उपभोगसँग सम्बन्धित प्रमुख करमा उल्लेख्य वृद्धि देखाएको छ।
तर सबै करको वृद्धिदर समान छैन। कतिपय शीर्षकमा राजस्व बढेको छ भने केहीमा घटेको छ। यसले उपभोगको मात्रा, वस्तुको मूल्य र कर नीतिमा भएका परिवर्तनको प्रभाव अलग-अलग भएको देखाउँछ।
गत वर्षको तुलनामा चालु वर्षमा भ्याट संकलन २४.८ प्रतिशतले बढेको छ। आन्तरिक तथा आयातित अन्तःशुल्क ९.४ प्रतिशत र आयातमा लाग्ने भन्सार महसुल ४.६ प्रतिशतले बढेको छ।
भ्याट, अन्तःशुल्क, भन्सार महसुल र स्वास्थ्य जोखिम करबाट गत वर्ष २ खर्ब २८अर्ब रूपैयाँ राजस्व संकलन भएकोमा चालु वर्ष २ खर्ब ६३ अर्ब रूपैयाँ पुगेको छ।
तर, राजस्व बढेको तथ्यांकले उपभोग त्यही अनुपातमा बढेको पुष्टि गर्दैन।
चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहाल राजस्व वृद्धि र मूल्यवृद्धिबीच दुवैतर्फको सम्बन्ध रहने बताउँछन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ।
अघिल्लो वर्षको असोजमा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्रै थियो।
‘राज्यले राजस्व जब बढाउन थाल्छ, त्यसको प्रत्यक्ष असर वस्तुको मूल्यवृद्धिमा पर्छ। हामी कर बढेको भन्दै गर्दा कर बढेको कारणले पनि मूल्यवृद्धि भएको हुन सक्छ अथवा मूल्यवृद्धि भएको कारणले पनि कर असुली बढेको हुन सक्छ, यसमा दुवै कुरा हुन्छ,’ उनले भने।
आन्तरिक भ्याट संकलन २०.८ प्रतिशतले बढेर ५४ अर्ब २४ करोड रूपैयाँ पुगेको छ। यसमा वस्तुको बिक्री तथा वितरणमा लाग्ने भ्याटको वृद्धि उल्लेख्य छ।
गत वर्ष वस्तुको बिक्री तथा वितरणबाट १० अर्ब ४ करोड रूपैयाँ भ्याट संकलन भएकोमा चालु वर्ष १४ अर्ब ४० करोड रूपैयाँ पुगेको छ। यो ४३.५ प्रतिशतको वृद्धि हो।
दाहाल, बिक्री तथा वितरणमा भ्याट बढ्नुको एउटा प्रमुख कारण बिल चिठ्ठा कार्यक्रमको प्रभाव मान्छन्।
‘आन्तरिक बिक्री तथा वितरणतर्फ ४३ प्रतिशत जुन बढ्यो, यो चाहिँ म्यासिभ रूपमा बिलको जुन चिठ्ठा छ, त्यो चिठ्ठाको योगदान हो,’ उनले भने।
उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा बिल माग्न थालेपछि खुद्रा तहमा कारोबारको अभिलेख राख्ने दबाब बढेको र त्यसको प्रभाव माथिल्लो तहसम्म पुगेको उनको भनाइ छ।
‘त्यसैले यसको तुरून्तै देखिएको नतिजा चाहिँ चिठ्ठाको नतिजा ४३ प्रतिशत हो,’ दाहालले भने।
उनका अनुसार राजस्व बढ्नुको अर्थ बजारमा पहिलेभन्दा बढी उपभोग भएको मात्रै होइन, पहिले अनौपचारिक रूपमा भइरहेको कारोबार करको औपचारिक दायरामा आएको पनि हुन सक्छ।
कुल भ्याट संकलनमा आयातित भ्याटको योगदान सबैभन्दा ठूलो देखिन्छ।
आयातित भ्याट गत वर्ष ६२ अर्ब १९ करोड रूपैयाँ रहेकोमा चालु वर्ष ७९ अर्ब ३८ करोड रूपैयाँ पुगेको छ। यसमा १७ अर्ब १९ करोड रूपैयाँ वृद्धि भएको छ। वृद्धिदर २७.६ प्रतिशत हो।
आयातमा लाग्ने भन्सार महसुल पनि ४.६ प्रतिशतले बढेको छ। गत वर्ष ५९ अर्ब २२ करोड रूपैयाँ संकलन भएकोमा चालु वर्ष ६१ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ।
तर आयातमा लाग्ने अन्तःशुल्क भने घटेको छ। गत वर्ष १७ अर्ब ५६ करोड रूपैयाँ संकलन भएकोमा चालु वर्ष १६ अर्ब ६ करोड रूपैयाँमा झरेको छ। यसमा ८.५ प्रतिशत कमी आएको छ। सरकारले चालु वर्षमा गाडीमा र अन्य साढे ३ सय बस्तुमा अन्तशुल्क घटाउने तथा हटाउने नीति लिएको थियो।
आन्तरिक र आयातित अन्तःशुल्क जोड्दा भने राजस्व ५९ अर्ब ८८ करोड रूपैयाँबाट बढेर ६५ अर्ब ५० करोड रूपैयाँ पुगेको छ।
राजस्व बढ्नुमा कारोबारको मात्रा र मूल्यसँगै करको दर तथा संरचनामा भएका परिवर्तनको प्रभाव पनि देखिएको छ।
आन्तरिक अन्तःशुल्क १६.८ प्रतिशतले बढेको छ। मदिरामा लाग्ने अन्तःशुल्क २१.६ प्रतिशत, बियरमा १२.८ प्रतिशत र अन्य औद्योगिक उत्पादनमा २८.३ प्रतिशतले बढेको छ।
तर सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क ६.९ प्रतिशत मात्रै बढेको छ।
अन्य औद्योगिक उत्पादनमा लाग्ने अन्तःशुल्क बढ्नुमा उत्पादन तथा कारोबारको विस्तारसँगै करको दरमा भएको परिवर्तनको प्रभाव पनि हुन सक्ने देखिन्छ।
आयातसँग सम्बन्धित राजस्वमा पनि नयाँ शीर्षकको प्रभाव देखिएको छ। हरित कर गत वर्ष ८२ करोड ८६ लाख रूपैयाँ संकलन भएकोमा चालु वर्ष ७ अर्ब ६४ करोड ८२ लाख रूपैयाँ पुगेको छ। यसैगरी स्वच्छ पूर्वाधार लगानी शुल्कबाट चालु वर्ष ३ अर्ब ७० करोड ३२ लाख रूपैयाँ संकलन भएको छ।
यी शीर्षकको राजस्वलाई सामान्य भन्सार महसुलभन्दा अलग राखेर हेर्नुपर्ने हुन्छ।
प्रतिशतका आधारमा लाग्ने करमा वस्तुको मूल्य बढ्दा कर संकलनको रकम पनि बढ्न सक्छ। वस्तुको बिक्री मूल्य बढेमा बिक्रीमा लाग्ने भ्याटको रकम बढ्छ। आयातित वस्तुको मूल्य बढ्दा आयातमा लाग्ने भ्याट र भन्सार महसुलमा पनि प्रभाव देखिन्छ।
यसैले राजस्वको वृद्धिदरलाई उपभोगको वृद्धिदरकै सँगै अन्य कारण पनि देखिएका छन्।
दाहालका अनुसार यी तथ्यांकले उपभोग बढेको मात्रै नभई पहिले भइरहेको उपभोग औपचारिक दायरामा आएको पनि संकेत गर्छ।
राजस्व वृद्धिमा बिल चिठ्ठा कार्यक्रम, भन्सार नाकामा गरिएको कडाइ, मूल्यवृद्धि र कर नीतिमा भएका परिवर्तनको प्रभाव मानिएको छ।
यसरी उपभोगसँग सम्बन्धित कर बढ्नु बजारमा आर्थिक गतिविधि विस्तार भएको संकेत देखिन्छ।