अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गतको 'क्यापस्टोन एक्सेलेरेटर' सम्पन्न भएको छ।
देशभर आयोजित क्षेत्रीय कार्यशालामा सहभागी २०० भन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोटबाट उत्कृष्ट २० जना राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका थिए।
उनीहरूले काठमाडौंमा आयोजित तीनदिने आवासीय कार्यक्रममा व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, बजार व्यवस्थापन, कृत्रिम बुद्धिमत्ता (एआई) र रणनीतिक सञ्चारलगायत विषयमा प्रशिक्षण तथा मेन्टरिङ प्राप्त गरेका हुन्।
कार्यक्रमको अन्तिम दिन सहभागी उद्यमीहरूले आफ्ना व्यवसाय लगानीकर्ता, उद्योगी, उद्यमशीलता क्षेत्रका साझेदार तथा विज्ञहरूको प्यानलसमक्ष प्रस्तुत गरे।
पिचिङका क्रममा उनीहरूले व्यवसायको सम्भावना, नवप्रवर्तन, बजार विस्तार, निर्यात अवसर र लगानी आकर्षित गर्ने रणनीतिबारे प्रस्तुति दिए।
कार्यक्रममा सहभागी उद्यमीहरूले 'क्यापस्टोन मेन स्ट्रिट सोकेस' मार्फत आफ्ना उत्पादन तथा सेवासमेत प्रदर्शन गरेका थिए।
प्रदर्शनीले उनीहरूलाई लगानीकर्ता तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद र नयाँ व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर दिएको आयोजकले जनाएको छ।
छनोट भएका उद्यमीहरू कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, डिजिटल सेवा, हस्तकला तथा सामाजिक उद्यमलगायत विभिन्न क्षेत्रमा सक्रिय छन्।
अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चिफ माइक हार्करले नेपाली उद्यमीमा लगानी, नवप्रवर्तन प्रवर्द्धन र उद्यमी, उद्योग तथा लगानीकर्ताबीच सम्बन्ध विस्तारले नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउने बताए।
क्यापस्टोन एक्सेलेरेटर अमेरिकी दूतावासको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमको अन्तिम चरण हो।
कार्यक्रम इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट (आइडिआई) ले आद्यन्त एडभाइजरीसँगको साझेदारीमा सञ्चालन गरेको हो।