नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मध्येको एक मलेसियाले नेपालबाट २५ वटा म्यानपावर कम्पनीहरू मार्फत मात्रै श्रमिक लैजाने भएको छ।
मलेसियाको आप्रवासी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली(एफडब्लुसिएमएस)मा सूचीकृत गरेर ती सूचीकृत म्यानपावरबाट मात्रै श्रमिक लैजाने भएको हो।
मलेसियाले नेपाल सहित १० स्रोत मुलुकहरूबाट श्रमिक लैजाने गरी म्यानपावर कम्पनीहरू सूचीकृत गरेको हो।
उक्त प्रणालीमा मलेसियाले नेपालसहित बंगलादेश, श्रीलंका, म्यानमार, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, भारत र फिलिपिन्सका म्यानपावर सूचीकृत गरेको छ।
मलेसियाको मानव संसाधन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सूचीकृत बाहेक अरू म्यानपावर कम्पनीमार्फत श्रमिक नलैजाने जनाएको छ।
यी हुन् नेपालबाट सूचीकृत म्यानपावरहरू :
• फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि
• लाल धनुष इन्टरनेसनल सर्भिस
• नेपाल प्लेसमेन्ट एजेन्सी प्रालि
• द रिभर ओभरसिज प्रालि
• एसिया लिंक सर्भिसेज प्रालि
• मोन्टाज ओभरसिज प्रालि
• नेपाल एचआर सोलुसन प्रालि
• स्काई पावर इन्टरनेसनल सर्भिसेज
• ट्रस्ट नेपाल ओभरसिज प्रालि
• एक्सेस पार्टनर्स प्रालि
• ह्वाइट हर्स इन्टरनेसनल प्रालि
• ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेज प्रालि
• बिएम. ओभरसिज प्रालि
• इन्डो अरब म्यानपावर प्रालि
• समयोग ओभरसिज प्रालि
• ट्यालेन्ट ओभरसिज सर्भिसेज प्रालि
• वाइड स्पेस इन्टरनेसनल
• खोजी रिक्रुटमेन्ट सर्भिसेज प्रालि
• ए.एन.एस. एसोसिएट्स प्रालि
• अल-हयात म्यानेजमेन्ट सिस्टम प्रालि
• अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस
• बिलिभेबल ओभरसिज प्रालि
• डी स्क्वायर्ड ग्रुप
• डी.डी. ह्युमन रिसोर्सेस ग्रुप प्रालि
• प्यारामाउन्ट एम्प्लोयमेन्ट कन्सल्टेन्सी प्रालि
नेपाल मलेसियाबीच दुई पक्षीय श्रम सम्झौता भएको छ।
तर, म्यानपावर सूचीकृत भने एकतर्फी रूपमा गरेको हो। यस विषयमा मलेसियाले नेपाल सरकारसँग कुनै पनि छलफल नगरेको तथा सहमति नलिएको पाइएको छ।
यस विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ' मलेसियाको एफडब्लुसिएमएस पोर्टलमा रजिस्टर्ड एजेन्सी मार्फत मलेसिया जाने नेपाली श्रमिकहरूलाई २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको सूची प्रकाशित गरी सोही इजाजतपत्र प्राप्त संस्थाहरूबाट मात्र श्रमिक पठाउने गरी एकाधिकार वा सिन्डिकेट गर्न लागेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूको सन्दर्भमा मन्त्रालयको ध्यान आकर्षण भएको छ।'
यसबारे श्रममन्त्री रामजी यादव र नेपालका लागि मलेसियाली कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानसँग भेट तथा छलफल समेत भएको छ।
छलफलमा श्रम आप्रवासन सम्बन्धी दुई देशका मुद्दाहरू आपसी द्विपक्षीय छलफल, परामर्श र सहमतीका आधारमा मात्र अगाडि बढाउन मन्त्री रामजी यादवले अनुरोध गरेको मन्त्रालयका सहसचिव एंव प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिएका छन्।
संयुक्त प्राविधिक समितिबाट यस प्रकारका विषयवस्तुहरू छलफल तथा वार्ताका माध्यमबाट टुंग्याउन सकिने विषयमा समेत सम्झदारी भएको समेत उनको भनाइ छ।
यस विषयमा श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई अहिले भइरहेकै अवस्थालाई कायम राख्न पत्राचार गरिएको समेत मन्त्रालयले जनाएको छ।
यस सम्बन्धमा नेपालले अवलम्बन गरेको श्रम तथा रोजगार सम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही मन्त्रालयबाट दुई देशबीचको आपसी सहमतिमा उपयुक्त निष्कर्षमा पुग्ने मन्त्रालयले जनाएको हो।
म्यानपावर व्यवसायीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाले सिण्डिकेट लगाएको आरोप लगाउँदै मलेसियाको निर्णयको विरोध गरेको छ।
संघको बैठकले मलेसियाले तोकेका २५ म्यानपावर कम्पनीलाई संघको सदस्यताबाट निलम्बन गर्ने निर्णय समेत गरिसकेको छ।
साथै, ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
नेपालमा प्रचलित ऐन, नियम तथा कानूनअनुसार इजाजतपत्र प्राप्त गरी वैधानिक रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका करिब एक हजार दुई सय संस्था रहेको र सबै व्यवसायीलाई समान अवसर र प्रतिस्पर्धाको सुनिश्चित हुनुपर्ने स्पष्ट पारेको छ।
'वैदेशिक रोजगार व्यवसाय कुनै व्यक्ति वा सीमित समूहको निजी स्वार्थमा चल्ने क्षेत्र हैन र सिन्डिकेट तथा एकाधिकार र यस्ता व्यावसायिक विभेदविरुद्ध संघ आवश्यक परे निर्णायक तथा कडा संघर्षमा उत्रिनेछ,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।