रोजगारीको प्रमुख गन्तव्य मुलुक मध्येको मलेसियामा श्रमिक भर्ना प्रक्रियामा सिन्डिकेट लागू गर्न खोजिएको भन्दै नेपाल सहित बंगलादेश, पाकिस्तान र म्यानमारका म्यानपावर व्यवसायीहरूले विरोध गरेका छन्।
नेपाल, बंगलादेश, म्यान्मार र पाकिस्तानका वैदेशिक रोजगारसम्बन्धी व्यवसायी तथा संस्थाहरूले मलेसियामा विदेशी श्रमिक भर्तीसम्बन्धी पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
खासगरी सिन्डिकेट हुने गरी लागू गर्न लागिएको फरन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) व्यवस्थाप्रति उनीहरूले चासो व्यक्त गरेका हुन्।
विज्ञप्तिमार्फत सीमित निजी संस्था वा भर्ती एजेन्सीलाई मात्र पहुँच दिने र कानुनी रूपमा इजाजतप्राप्त अन्य एजेन्सीलाई प्रतिबन्धित वा बाहिर राख्ने कुनै पनि व्यवस्थाले निष्पक्ष प्रतिस्पर्धा, पारदर्शिता, समान अवसर तथा आप्रवासी श्रमिकको अधिकार र हितका विषयमा गम्भीर प्रश्न उब्जिएको यी मुलुकका निजी क्षेत्रले उल्लेख गरेका छन्।
वैदेशिक रोजगारी सम्बन्धित देशहरूको महत्वपूर्ण आर्थिक क्षेत्र भएको र यसले लाखौँ श्रमिक तथा उनीहरूका परिवारलाई सहयोग गर्नुका साथै विप्रेषणमार्फत राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विज्ञप्तिमा उल्लेख छ।
त्यसैले भर्ती प्रणाली, रोजगारदाता, श्रमिक वा भर्ती अवसरमा छनोटात्मक पहुँचमार्फत कुनै निजी कम्पनी, समूह वा सीमित व्यवसायको नियन्त्रण हुन नहुने विज्ञप्तिमा भनिएको छ।
संयुक्त विज्ञप्तिमार्फत मलेसिया, नेपाल, बंगलादेश, म्यान्मार र पाकिस्तानका सरकार, सम्बन्धित मन्त्रालय तथा नियामक निकाय, कूटनीतिक नियोग र सम्बन्धित मलेसियाली निकायलाई एफडब्लुसिएमएस तथा त्यससँग सम्बन्धित भर्ती प्रक्रियामा पहुँचसम्बन्धी कुनै पनि व्यवस्थाको कानुनी तथा संस्थागत आधार तत्काल स्पष्ट गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा त्यस्ता व्यवस्थाका लागि योग्यता, छनोट प्रक्रिया, कानुनी अधिकार, करारसम्बन्धी व्यवस्था, अधिकारको क्षेत्र तथा प्रणाली सञ्चालक र छनोट गरिएका भर्ती एजेन्सीबीचको सम्बन्ध पारदर्शी बनाई उपयुक्त नियामकीय निगरानीको दायरामा राख्नुपर्ने माग गरिएको छ।
कुनै निजी संस्था वा समूहले विशेष वा प्राथमिक व्यवस्थामार्फत भर्ती प्रणाली, रोजगारदाताको पहुँच, श्रमिक परिचालन, भर्ती अवसर वा समग्र वैदेशिक रोजगारी व्यवसायलाई नियन्त्रण गर्ने प्रयास गरे त्यसले खुला र प्रतिस्पर्धात्मक भर्ती वातावरणका लागि गम्भीर खतरा निम्त्याउने उनीहरूको भनाइ छ।
कुनै पनि निजी संस्थालाई राष्ट्रिय वैदेशिक श्रमिक भर्ती संयन्त्रलाई आफ्नै विशेष व्यावसायिक नियन्त्रणअन्तर्गतको प्रणालीमा रूपान्तरण गर्न दिन नहुने विज्ञप्तिमा उल्लेख छ।
नेपाल, बंगलादेश, म्यान्मार र पाकिस्तानका वैदेशिक रोजगार क्षेत्रका प्रतिनिधिहरूले मलेसियाको वैदेशिक रोजगार भर्ती क्षेत्रमा हुने कुनै पनि प्रकारको सिन्डिकेट, एकाधिकार, विभेदपूर्ण पहुँच, प्रतिस्पर्धाविरोधी अभ्यास वा अनुचित निजी नियन्त्रण रोक्न सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
संयुक्त विज्ञप्तिमा नेपाल एसोसिएसन अफ फरन इम्प्लोयमेन्ट एजेन्सी अध्यक्ष दिकबहादुर खत्री, बंगलादेश एसोसिएसन अफ इन्टरनेसनल रिक्रुटिङ एजेन्सीका तत्कालीन वरिष्ठ उपाध्यक्ष रियाज उल इस्लाम, म्यान्मार ओभरसिज इम्प्लोयमेन्ट एजेन्सी एसोसिएसनका अध्यक्ष म्यो थान्त तथा पाकिस्तान ओभरसिज इम्प्लोयमेन्ट प्रमोटर्स एसोसिएसनका अध्यक्ष सैयद रहमत अली शाहले संयुक्त हस्ताक्षर गरेका छन्।
मलेसियाले नेपालबाट २५ वटा म्यानपावरमार्फत मात्रै श्रमिक लैजाने गरी योजना अघि सारेको छ।
एफडब्लुसिएमएस प्रणालीमा सूचीकृत भएका ती म्यानपावरबाट मात्रै श्रमिक लैजान लागेपछि अरू म्यानपावर व्यवसायीले यसको विरोध गर्दै कारबाहीका लागि माग गरिरहेका छन्।
सरकारले छानबिन गर्ने जनाएको छ।
