भिभोले नेपालमा नयाँ स्मार्टफोन भी८० सार्वजनिक गरेको छ।
जाइस पोट्रेट क्यामरा, ७ हजार २०० एमएएच ब्याट्री र ९० वाट फ्ल्यासचार्ज सुविधासहित आएको फोनको सुरुवाती मूल्य एक लाख आठ हजार ९९९ रूपैयाँ तोकिएको छ।
८ जिबी र्याम र २५६ जिबी भण्डारण क्षमताको मूल्य एक लाख आठ हजार ९९९ रूपैयाँ तथा आठ जिबी र्याम र ५१२ जिबी भण्डारण क्षमताको मूल्य एक लाख ३३ हजार ९९९ रूपैयाँ रहेको कम्पनीले जनाएको छ।
नोभेम्बर १ देखि ४ सम्म प्रि–बुकिङ खुला गरिएको छ।
यस अवधिमा बुक गर्ने पहिलो एक हजार २०० ग्राहकलाई भिभो बड्स नि:शुल्क, दुई हजार रूपैयाँ क्यासब्याक, अगाडि तथा पछाडिको ग्लास फुट्ने जोखिमको बीमा र ६ महिनाको थप वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ।
फोनमा ५० मेगापिक्सल जाइस सुपर टेलिफोटो क्यामरा छ, जसले ८५ एमएम र १०० एमएम पोट्रेट फोकल लेन्थ सपोर्ट गर्छ।
अगाडि ५० मेगापिक्सल जाइस ग्रुप सेल्फी क्यामरा रहेको छ।
कम्पनीका अनुसार अगाडि र पछाडिका क्यामराबाट फोरकेमा प्रतिसेकेन्ड ६० फ्रेम भिडिओ खिच्न सकिन्छ।
भी८० मा १.५के ओएलइडी डिस्प्ले, १४४ हर्ज रिफ्रेस रेट र थ्रिडी अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर छन्।
फोनको मोटाइ ७.६९ मिलिमिटर छ भने धुलो र पानी प्रतिरोधका लागि आइपी६८ तथा आइपी६९ रेटिङ रहेको छ।
ओरिजिन ओएस ७ मा सञ्चालन हुने फोनमा तस्बिरमा भएका लिखित सामग्रीलाई डिजिटल नोटमा बदल्ने र आवाजलाई लिखित रूपमा उतारेर सारांश तयार गर्ने एआई सुविधा समावेश छन्।
कम्पनीले ६ वर्षसम्म सहज कार्यसम्पादन र सुरक्षा अद्यावधिक उपलब्ध हुने दाबी गरेको छ।
राइज अरेन्ज र प्राइम ग्रे रंगमा उपलब्ध फोन नोभेम्बर ५ देखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ।
ग्राहकलाई १२ महिनाको शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।