एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म 'भिल'ले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रूपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रूपैयाँ सहयोग गरेको हो।
कम्पनीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत् सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।
उक्त रकम बाढी प्रभावित परिवार तथा समुदायका तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने कार्यमा प्रयोग हुने अपेक्षा गरिएको छ।
साथै, प्रभावित समुदायलाई पुनःस्थापित हुँदै सामान्य जीवनमा फर्काउन आवश्यक दीर्घकालीन पुनर्स्थापनाका प्रयासमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ।
भिलले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ।
उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वयंसेवक, स्थानीय समुदाय र अन्य सहयोगीहरूको प्रयासको पनि कम्पनीले प्रशंसा गरेको छ।
भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप ढकालले कठिन समयमा सबै एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने बताएका छन्।
उनले आगामी दिनमा पनि आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्न सकिने उपायहरू खोजिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कम्पनीले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सक्ने व्यक्ति, व्यवसाय तथा संघसंस्थालाई पनि आ–आफ्नो तर्फबाट योगदान गर्दै बाढी प्रभावित समुदायको साथमा उभिन आग्रह गरेको छ।