अमेरिकी प्रविधि कम्पनी मेटालाई इटालीले ८८ करोड ७० लाख अमेरिकी डलर जरिवाना गरेको छ।
इटालीले मोबाइल प्रयोगकर्ताको ग्यालरीमा रहेका फोटो र भिडिओ उनीहरूको स्पष्ट अनुमति नलिई फेसबुकले प्रयोग गरेको भन्दै मेटालाई जरिवाना गरेको छ।
इटालीको तथ्यांक संरक्षण निकायले फेसबुकले प्रयोगकर्ताको मोबाइलमा भएका फोटो र भिडिओ हेरेर उनीहरूलाई सुझाव दिने सुविधा राखेको थियो। तर प्रयोगकर्तालाई पर्याप्त जानकारी नदिई र छुट्टै अनुमति नलिई उक्त सुविधा चलाएको भन्दै इटालीले कारबाही गरेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले जनाएको छ।
एपीका अनुसार फेसबुकमा ‘ग्यालरीबाट सुझाव प्राप्त गर्ने’ नामको यो सुविधा मोबाइल एप चलाउँदा आफैँ सक्रिय हुने गरी राखिएको थियो।
अर्थात् प्रयोगकर्ताले आफ्नो मोबाइलका फोटो र भिडिओ फेसबुकले हेर्न पाउने भनेर छुट्टै अनुमति दिनुपर्दैनथ्यो। एपका विभिन्न कामका लागि एउटै अनुमति मागिने भएकाले प्रयोगकर्ताले आफ्नो ग्यालरीका सामग्री पनि फेसबुकले प्रयोग गर्न सक्ने कुरा स्पष्टसँग बुझ्न नसक्ने अवस्था थियो।
इटालीको तथ्यांक संरक्षण निकायले मोबाइलमा रहेका फोटो र भिडिओ व्यक्तिका निजी सामग्री भनेको छ। तिनमा पहुँच बनाउनुअघि प्रयोगकर्तालाई स्पष्ट जानकारी दिएर अनुमति लिनुपर्नेमा फेसबुकले यस्तो प्रक्रिया पूरा नगरेको निकायको ठहर छ।
इटालीले मेटालाई ६० दिनभित्र उक्त सुविधा बन्द गर्न वा त्यसका लागि प्रयोगकर्तासँग छुट्टै अनुमति लिन निर्देशन दिएको छ।
जरिवानाबारे मेटाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
इटालीको निकायले मेटाको आयरल्यान्डस्थित कम्पनीलाई जरिवाना गरेको हो। मेटाले भने यस विषयमा कारबाही गर्ने अधिकार इटालीसँग रहेको दाबीमाथि नै प्रश्न उठाएको थियो।
अनुसन्धानका क्रममा मेटाले पर्याप्त सहयोग नगरेको विषयलाई पनि जरिवाना निर्धारणको आधार बनाइएको इटालीले जनाएको छ।
यो जरिवाना मेटाको विश्वव्यापी कारोबारको करिब ०.४७ प्रतिशत हो।