राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको सुरूङ निर्माणको काम ५० दिनदेखि ठप्प छ।
कमजोर भौगर्भिक अवस्थाका कारण समस्या देखिँदा काम अघि बढाउन नसकिएको आयोजनाका निर्देशक मित्र बरालले बताए। 
सुरूङ अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिबाट निर्माण भइरहेको छ।
निर्माणका क्रममा सुरूङभित्र सुख्खा पहिरो खस्ने लगायत समस्या देखिएपछि काम रोकिएको हो। टिबिएम मेसिनका प्राविधिक, विज्ञ तथा भूगर्भविदले अहिले समस्या बारे अध्ययन गरिरहेको पनि उनले जानकारी दिए। 
'यसअघि पनि सुरूङभित्र पाँचपटक समस्या आइसक्यो। यो छैटौं समस्या हो,' उनले सेतोपाटीसँग भने। 
यसअघि समस्या आउँदा टिबिएम मेसिन निकालेर समाधानपछि फेरि राखेर काम गरिएको थियो। अब पनि मेसिन निकालेर समस्या समाधानपछि जोडिने उनले बताए।
आयोजनाको मुख्य सुरूङको लम्बाई १३.३ किलोमिटर छ। हालसम्म १०.५४४ किलोमिटर खनिसकिएको छ। अब करिब तीन किलोमिटर खनेपछि ब्रेक थ्रु हुनेछ। अहिलेको समस्या समाधान भएर नियमित काम हुने हो भने अबको तीन महिनाभित्र ब्रेक थ्रु हुने बरालले बताए।
'कमजोर भौगर्भिक अवस्थाले अहिले जटिल समस्या देखिएको छ। यस्तो समस्या फेरि-फेरि पनि देखिइरह्यो भने कहिले काम सकिन्छ भनेर भन्न सकिँदैन,' उनले भने।
आयोजनाकाे २०७९ असोज २८ गतेदेखि टिबिएममार्फत् निर्माण थालिएको हो। उक्त मेसिनका लागि आवश्यक उपकरण चीनबाट आयात गरी मेसिनको डिजाइन तयार गरिएको थियो। 
उक्त प्रविधिबाट सुरूङ खन्दा ब्लास्टिङ गर्नुपर्ने झन्झट हुँदैन। काम पनि छिटो हुने हुँदा लक्षित समयमै सकिने उल्लेख गरिएको छ। 
कुनै पनि समस्या नदेखिएको अवस्थामा खन्न थालेको २० महिनाभित्र सुरूङ ब्रेक थ्रु गर्न सकिने आयोजनाले बताएको थियो। 
सुरूमा केही समस्या नदेखिए पनि पछिल्लो समय समस्या देखिन थालेको बरालले बताए।
यो आयोजनाको मुख्य उद्देश्य प्रदेश–२ का पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई सुविधा पुर्याउनु हो।
तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाई सुविधा पुर्याउने उल्लेख छ। जसले देशको कृषि उत्पादन बढाउने विश्वास लिइएको छ।
यसबाट ३१.७ मेगावाट विद्युत पनि उत्पादन गर्ने लक्ष्य आयोजनाको छ।
गुरुयोजनाअनुसार १३.३ किलोमिटर सुरुङमार्फत् ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीमा पुर्याइने छ। 
खुर्कोटबाट पानीलाई सुरुङमार्फत् सिन्धुली कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइने छ। जसबाटै ३१.७ मेगावाट विद्युत उत्पादन गरिनेछ।
त्यहाँबाट निस्किएको पानी मरिन नदी हुँदै बागमती नदीमा खसालिनेछ। जसबाट बागमती सिँचाइ आयोजनामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ। 
बागमती सिँचाइ आयोजनाको पानीलाई पूर्वतर्फको नहरबाट ७६ हजार ६ सय हेक्टर र पश्चिमतर्फको नहरबाट ४५ हजार चार सय हेक्टर जमिनमा पुर्याउने उल्लेख छ। 
सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज वा ड्याम निर्माण गरिनेछ।
त्यस्तै १५० मिटर लामो डिसेन्डिङ बेसिन जसले सुनकोशी नदीबाट आएको पानी छान्ने काम गर्छ।
सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा विद्युत गृह, ४४ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य छ। यो परियोजनाबाट उत्पादन हुने विद्युत वर्षभरी नै एकनास हुने आयोजनाको विश्वास छ। 
उत्पादित बिजुली ४२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी नवलपुरमा जोड्ने योजना छ। 
यो आयोजना आर्थिक वर्ष २०८२-८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। 
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते यो आयोजना शिलान्यास गरेका थिए।