ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई भारतीय राजदूत श्रीवास्तवले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भेटमा नेपाल-भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगतिका विषयमा छलफल भएको थियो।
ऊर्जा तथा जलस्रोत क्षेत्रका द्धिपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण)को नहरबाट नेपालतर्फ पानी पठाउने, भारतीय सहायतामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको प्रगति, इनरूवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माण, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृति लगायतका विषयमा छलफल भएको थियो।
मन्त्री घिसिङलेले दसैं तिहारमा उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक रूपमा विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि स्वीकृति दिन आग्रह गरिएको बताए।
अहिले नेपालले बंगलादेशसहित भारततर्फ ११६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ।
थप ४ आयोजनाको १३८ मेगावाट निर्यातका स्वीकृतिका लागि भारत समक्ष प्रस्ताव पेश गरिएको छ। इनरूवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको अध्ययन सम्पन्न भएको भेटमा जानकारी गराइएको थियो।
जेनजीको आन्दोलनका कारण क्षति पुगेका संरचना पुनर्निर्माणमा आवश्यक परेमा सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवले बताए।
भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरू चिरञ्जीवी चटौत, सन्दीप कुमार देव, परराष्ट्र मन्त्रालय दक्षिण एशिया महाशाखाका शाखा अधिकृत प्रतिक कार्कीको उपस्थिति थियो।