ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन्।
मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए।
दुवै आयोजनाको निर्माणमा अस्वाभाविक ढिलाई भएको देखिएपछि मन्त्री घिसिङले निर्माणमा सङ्लग्न सबै पक्षसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ।
तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरूको निर्माणमा भइरहेको अस्वभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उनको भनाइ छ।
त्यसो हुँदा सबै पक्षलाई गम्भीर भएर काम गर्न समेत उनले आग्रह गरे।
‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ। निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ, राज्यको अर्बौं रूपैयाँ लगानी भइसकेको छ। ब्याजको मात्र हिसाब गर्ने हो भने अर्बौं हुन्छ, यस्तो अवस्थामा आयोजना सुरू गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो,’ उनले भने।
भेरी बबईको सुरूङ २०७७ भदौमा निर्माण सकिएको थियो। बाँध तथा विद्युत गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान–रमण जेभीसँग ठेक्का सम्झौता भएको थियो।
आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ। सुनकोशी मरिण बाँध, विद्युत गृह लगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत छ। ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ। यस आयोजनाको निर्माण व्यवसायी पटेल–रमण जेभी हो।